भेटाउन नसक्ने भएपछि सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

वीरगञ्ज । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ ।

कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा ५ अर्ब रुपैयाँले लक्ष्य घटाएको हो ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा ६० अर्ब ४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताए ।

‘कार्यालयले गत आवमा लक्ष्यको ७१.७५ प्रतिशत राजस्व असुली गरेको थियो । आव २०७९/८० को तुलनामा आव २०८०/८१ म रु पाँच अर्बभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो,’ उनले भने, ‘गत आवमा लक्ष्यानुसारको राजस्व सङ्कलन हुन भने सकेन ।’

भन्सार विभागले आव २०८०/८१ मा कार्यालयलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१.७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड १ लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो ।

विभागले कार्यालयलाई आव २०७९/८० मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व सङ्कलन गरेको थियो ।

काठमाडौंका नदीमा थप २० मिटरको मापदण्ड कार्यान्यवन गर्दै बालेन, एमाले नेताले गुहारे प्रधानमन्त्री Read Previous

काठमाडौंका नदीमा थप २० मिटरको मापदण्ड कार्यान्यवन गर्दै बालेन, एमाले नेताले गुहारे प्रधानमन्त्री

फेसियल हाउस ब्युटी एकेडेमी चितवनको भरतपुरमा Read Next

फेसियल हाउस ब्युटी एकेडेमी चितवनको भरतपुरमा