सस्तियो सेयर कर्जा, कुन बैंकले कति प्रतिशतमा दिन्छन् ऋण ?

काठमाडौं । सेयर धितो (मार्जिन प्रकृतिको) कर्जाको ब्याजदर सस्तिँदै गएको छ । १ वर्ष यता बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाउँदा बेसरेट सस्तिँदै जाँदा सेयर धितो कर्जाको ब्याजदर पनि घट्न थालेको हो ।

बैंकहरूले गत कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत घट्न गई बेसरेट सस्तिँदा कर्जाको ब्याजदर पनि घटेको हो

अहिले बैंकहरूको आधारदर (बेसरेट) ३० महिना यताकै सस्तो भएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार औसत बेसरेट ८ प्रतिशत हाराहारीमा झरिसकेको छ । साउनसम्म १७ बैंकको बेसरेट ९ प्रतिशतभन्दा कम छ ।

अर्थतन्त्रमा आएको संकुचनका कारण डेढ वर्ष यता कर्जाको माग बढ्न सकेको छैन भने बैंकिङ प्रणालीमा तरलता थुप्रिने क्रम बढ्दो छ । कर्जाको माग नबढ्ने तर, एकोहोरो निक्षेप थुप्रिरँहदा बैंकहरूले आफ्नो खर्च घटाउन निक्षेपको ब्याजदर महिनैपिच्छे घटाउँदै आएका हुन् । जसको सकारात्मक प्रभाव कर्जाको ब्याजदरमा देखिएको हो ।

२ वर्ष अघि १७/१८ प्रतिशतसम्म पुगेको कर्जाको अधिकतम ब्याजदर १३/१४ प्रतिशतमा झरेको छ । अहिले अधिकांश् बैंक्हरूले एकल अंक्को ब्याजदरमै कर्जा उपलब्ध गराउन थालेका छन् । केही बैंकले घरकर्जा र सवारी कर्जामा ७/८ प्रतिशत ब्याजदरकै स्कीम ल्याएका छन् भने सेयर कर्जामा पनि एकल अंकको ब्याजदरको स्कीम ल्याउन थालेका छन् ।

कुन बैंकले कतिमा दिन्छन् सेयर कर्जा ?

बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर कर्जा लगानी गर्छन् । कर्जाको ब्याजदर बेसरेटले फरक पार्छ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् ।

हाल संचालनमा रहेका २० वटामध्ये १९ वटा बैंक (स्ट्याण्डर्ड चार्टर्ड बाहेक)ले सेयर कर्जा लगानी गरिरहेका छन् । जसमा अधादजर्न बैंकले १० प्रतिशतभन्दा कममै सेयर कर्जा दिन्छन् । राष्ट्रिय वाणिज्य, एभरेष्ट, नेपाल, सानिमा, नेपाल एसबीआइ र एनएमबी बैंकले बेसरेटमा न्यूनतम प्रिमियम जोडेर १० प्रतिशत कममै सेयर कर्जा दिने जनाएका छन् ।

एभरेष्ट बैंकले सबैभन्दा सस्तो ८.२९ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिने भएको छ । ७.२९ प्रतिशत बेसरेटममा न्यूनतम १ देखि ४ प्रतिशत प्रिमियम जोडेर एभरेष्टले ८.२९ देखि १२.२९ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिने भएको हो ।

त्यस्तै, ग्लोबल आइएमई, कृषि विकास, प्रभु, सिद्धार्थ, हिमालयन बैंकले प्रिमियम जोडेर न्यूनतम साढे ११ प्रतिशत ब्याजदरमै सेयर कर्जा दिन्छन् ।

बेसरेट महँगो भएका बैंकहरूले पनि अहिले बेसरेटमा न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर साढे १० प्रतिशत हाराहारीमै सेयर कर्जा दिन थालेका छन् ।

अहिले ५ प्रतिशत प्रिमियम जोड्दा पनि बैंकहरूले अधिकतम १४ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिन्छन् । अधिकांश बैंकले अधिकतम ४ प्रतिशतसम्म प्रिमियममा सेयर कर्जा दिने जनाएका छन् ।

नेपाल राष्ट्र बैंकले नीतिगत लचकता अपनाएसँगै पछिल्लो समय सेयर कर्जाको माग बढ्दै गएको छ । गत आवमा मात्रै १३ अर्ब सेयर कर्जा प्रवाह भएको थियो ।

मुग्लिन-पोखरा सडकका घरटहरा भत्काउन ११ करोड क्षतिपूर्ति वितरण Read Previous

मुग्लिन-पोखरा सडकका घरटहरा भत्काउन ११ करोड क्षतिपूर्ति वितरण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, साथै हकप्रद पनि जारी गर्ने Read Next

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, साथै हकप्रद पनि जारी गर्ने