काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने सुविधा थैली अन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए।
बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागू गरिएको हो ।
बोर्डले विज्ञहरूको सुझाव अनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत १ हजार २९० प्रकारका औषधि छन् । अस्पताल टिकट ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन २५० रुपैयाँ राखिएको छ । यसअघि साधारण शय्याको २०० रुपैयाँ थियो ।
स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँचजना परिवारसम्मका लागि ३ हजार ५०० बराबरको योगदानका आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।
यस्तै, थप प्रतिसदस्य ७०० रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रुपैयाँसम्म तोकिएको छ ।
बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार ४८३ जना रहेको छ ।