काठमाडौं । दक्षिण एसियाली मुलुक श्रीलंकलाले नेपाल सहित ३५ देशलाई भिसा फ्री देशको सूचीमा राखेको छ ।
श्रीलंकाले वैदेशिक मुद्रा भित्र्याउनका लागि ३५ देशका पर्यटकलाई फ्री भिसामा प्रवेश दिने नीति लिएको हो ।
श्रीलंकाका पर्यटन मन्त्री हरिन फर्नाण्डोले बुधबार मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै दक्षिण एशियाली छिमेकी नेपाल सहित ३५ वटा मुलुकको पर्यटकका लागि भिसा निःशुल्क गरिएको जानकारी दिए ।
उनका अनुसार नेपाल, भारत, चीन, मलेशिया, थाइल्याण्ड, इण्डोनेशिया, अमेरिका, न्युजिल्याण्ड, वेलायत, जर्मनी, रसिया, जापान, फ्रान्स, क्यानडा लगायतक ३५ देशका पर्यटकका लागि भिसा शुल्क फ्री गरिने भएको हो ।
यो निर्णय आगामी अक्टोबर १ तारिखदेखि लागू हुनेछ । एक पटक जारी गरिएको भिसा ६ महिनासम्म मान्य हुनेछ । पर्यटक ३० दिनसम्म श्रीलंकाको बस्न सक्नेछन् ।
सन् २०२४ मा २३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको श्रीलंकाले सो लक्ष्य पूरा गर्न निःशुल्क भिसा नीति ल्याएको हो । यस वर्षको ७ महिनामा १३ लाख बढी पर्यटक भित्रिसकेका छन् ।