काठमाडौं । तीन वाणिज्य बैंकको सेयर मूल्य ७ वर्ष यताकै उच्च भएको छ । २०७८ सालको बुलमा समेत खासै मूल्य बढ्न नसकेका स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र नेपाल एसबीआइ बैंकको सेयर मूल्य अहिले ७ वर्ष यताकै महँगो भएको हो ।
बैंकिङ समूहको परिसूचक अघिल्लो बुलकोभन्दा झण्डै २० प्रतिशत तलै छ । तर, विदेशी स्वामित्व भएका यी ३ बैंकको सेयर मूल्य भने ७ वर्ष यताकै महँगो भएका हुन् ।
बिहीबार एभरेष्ट र चार्टर्डको सेयर मूल्य प्रतिकित्ता ७५० रुपैयाँ माथि पुगेको छ । सन् २०१८ अप्रिल यताकै उच्च हो । त्यस्तै, नेपाल एसबीआइको सेयर मूल्य प्रतिकित्ता ४८० रुपैयाँ माथि पुगेको छ । यो पनि सन् २०१८ यताकै महँगो मूल्य हो ।
पछिल्लो समय वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । त्यसमा पनि तुलनात्मक रुपमा कम चुक्ता पूँजी भएका चार्टर्ड, एभरेष्ट र एसबीआइको सेयरमा उच्च आकर्षण देखिएको छ ।
कम पूँजी भएर पनि पछिल्ला केही वर्ष यता यी बैंकले लोभलाग्दो प्रगति गर्दै आएका छन् । गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश दिने क्षमता एभरेष्टको ३० प्रतिशत र चार्टर्डको साढे २६ प्रतिशत छ । त्यस्तै, एसबीआइको पौने ११ प्रतिशत रहेको छ ।
गत वर्षको नाफाबाट आधादर्जन बैंकले लाभांश दिनसक्ने अवस्था छैन । जम्मा ४ वटा बैंकले मात्र १० प्रतिशत बढी लाभांश दिने अवस्था छ । यस्तोमा यी बैंकमा लगानीकर्ताको आकर्षण बढ्दा सेयर मूल्य पनि बढेको छ ।
विगतमा पनि यी बैंकले सेयरधनीलाई हरेक वर्ष जस्तो लाभांश दिँदै आएका छन् । यस वर्ष पनि सर्वाधिक क्षमता यिनैको छ । चुक्ता पूँजी कम र लाभांश क्षमता धेरै भएकाले यी बैंकको सेयर लगानीकर्ताको रोजाइमा पर्न थालेको हो ।
विगतमा चार्टर्ड र एभरेष्ट ‘ब्लूचिप’ कम्पनी थिए । चार्टर्डको मूल्य प्रतिकित्ता ९ हजार माथिसम्म पुगेको थियो भने एभरेष्टको ५ हजार माथि थियो ।