दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब ८ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा ७ करोड ९७ लाख ७६ हजार १०१ रुपैयाँ बक्यौता रहेको हो ।
सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट रु ३ करोड ९७ लाख ६६ हजार ६६० बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए। उनका अनुसार गार्हस्थ्यतर्फ रु १ करोड ६७ लाख ८३ हजार नौ सय ५९, गैरव्यापारिकतर्फ रु ४० लाख ८४ हजार ९००, औद्योगिकतर्फ रु १ करोड २४ लाख ४४ हजार २४२, सडक बत्तीतर्फ रु १ करोड १४ लाख ६७ हजार ३१७, खानेपानीतर्फ रु ८९ हजार ५९२, चार्जिङ स्टेसनतर्फ रु ४५ हजार २९९, सिचाइँतर्फ रु ३६ हजार सात सय चार, मन्दिरतर्फ रु ४१ हजार ५९२ बक्यौता बाँकी छ ।
आर्थिक वर्ष २०७९र८० मा रु आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो । त्यसमध्ये रु ५७ लाख ८४ हजार २९८ बक्यौता उठेको रेग्मीले बताए । उनका अनुसार जिल्लामा विद्युत्का ५१ हजार ७१७ ग्राहक पुगेका छन् ।
आर्थिक वर्ष २०७९/८० सम्म ५० हजार ३७२ ग्राहक रहेकामा गत आवमा १ हजार ३४५ ग्राहक थपिएका हुन् । केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ १ हजार २२५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक थपिएका छन् ।
हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ ५४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ ७७६, सिचाइँतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ एक सय ६९, मन्दिरतर्फ २०३ र अन्यतर्फ १०७ ग्राहक रहेका केन्द्रले जनाएको छ ।
केन्द्रले गत आवमा ५ करोड ४० लाख ५९ हजार २१२ युनिट विद्युत् बिक्री गरेको छ । आव २०७९र८० मा ५ करोड १० लाख ३२ हजार ४८९ युनिट विद्युत् बिक्री भएको थियो । ग्राहक सङ्ख्या बढेसँगै विद्युत् बिक्री बढेको रेग्मीको भनाइ छ ।