काठमाडौं । भारत सरकारले नेपालका थप १२ वटा जलविद्युत् आयोजनाबाट उत्पादित २५१ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको छ । भारतीय केन्द्रीय विद्युत प्राधिकरणले नेपालबाट थप २५१ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति दिएको हो ।
नेपालस्थित भारतीय दूतावासले सोमबार दिएको जानकारी अनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको हो । हाल इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरिरहेको नेपालले पहिलो पटक भारतीय रियल टाइम मार्केटमा बिक्रीको पहुँच पाएको हो । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।
हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणले अनुमति पाएको हो । प्राधिकरणले हाल हरियानालाई १०९ मेगावाट बिजुली बेचिरहेको छ ।
यससँगै अब नेपालबाट भारत विद्युत् निर्यातका लागि अनुमति पाउने आयोजनाको संख्या २८ पुगेको छ । यी आयोजनाबाट उत्पादित हुने कुल ९४१ मेगावाट बिजुली भारतमा बिक्री हुनेछ । यसअघि १६ जलविद्युत् आयोजनबाट उत्पादित ६९० मेगावाट बिजुली भारत बिक्री हुँदै आएको थियो ।
नेपालले पहिलोपटक सन् २०२१ अक्टोबरमा बिजुली भारतलाई बेचेको थियो । सोबेला ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो ।
३ वर्षको अवधिमै नेपालबाट बिजुली निर्यात २४ गुणा भन्दा धेरैले बढेको भारतीय दूतावासले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै नेपालले १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत् भारतलाई बेचेको थियो । गत वर्ष नेपाल पहिलोपटक खुद विद्युत निर्यातकर्ता समेत बनेको थियो ।
भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको जनाइएको छ । जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने भारतीय सरकारको भनाइ छ ।
‘नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै १ हजार मेगावाट निर्यात भइसकेको छ,’ भारतीय दूतावासले भनेको छ ।