नेप्से बढ्दा सरकार पनि ‘मालामाल’, झण्डै १० गुणाले बढ्यो आम्दानी

काठमाडौं । सेयर बजार बढ्दा लगानीकर्ता मात्रै होइन सरकारलाई पनि उल्लेख्य फाइदा भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा सरकारले सेयर बजारबाट पाउने पूँजीगत लाभकर गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० गुणाले बढेको छ ।

सेयर लगानीकर्ताको नाफा बढेसँगै सरकारले पाउने राजश्व पनि ह्वात्तै बढेको हो । सीडीएस एण्ड क्लियरिङका अनुसार चालु आवको साउनमा सेयर कारोबार बापत सरकारले कुल ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८०२ रुपैयाँ पूँजीगत लाभकर उठाएको छ ।

यो गत वर्ष साउनको तुलनामा ९५७.३३ प्रतिशत धेरै हो । गत आव २०८०/८१ को साउनमा सरकारले जम्मा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ मात्र पूँजीगत लाभकर पाएको थियो ।

चालु आवको साउनमा उठेको पूँजीगत लाभकर गत आर्थिक वर्ष भरीकोभन्दा पनि धेरै हो । गत आवमा ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पूँजीगत लाभकर उठेको थियो ।

गत असार १७ गते यता मात्रै नेप्से परिसूचक झण्डै १ हजार अंकले बढिसकेको छ भने साउनमा मात्रै ७५० अंक बढेको छ । नेप्से बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको मूल्य बढ्दा लगानीकर्ताको नाफा मनग्ये बढेकाले पूँजीगत लाभकर ह्वात्तै बढेको हो ।

पछिल्लो समय औसतमै दैनिक २० अर्ब बढीको कारोबार हुँदै आएको छ भने एकैदिन झण्डै ३० अर्बसम्मको कीर्तिमानी कारोबार भएको छ । यसले पनि पूँजीगत लाभकर बढेको हो ।

लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ ।

हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।

सरकारले यसअघि आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट सर्वाधिक १४ अर्ब ६ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो ।

२०७८ भदौमा कीर्तिमानी ३१९८ बिन्दुबाट झरेको नेप्से त्यसयता बियरिस ट्रेन्डमा रहेको थियो । झण्डै ३ वर्षको बियरिस ट्रेन्डपछि अहिले नेप्सेले बुल ट्रेन्ड समात्ने संकेत देखाएकाे छ । घट्दो ब्याजदर, अधिक तरलता, लचिलो मौद्रिक नीति, अर्थतन्त्रमा आएको क्रमिक सुधार र नयाँ सत्ता समीकरण लगायत कारणाले आगामी दिनमा सेयर बजार बढ्ने लगानीकर्ताको अपेक्षा छ ।

 

तनहुँमा करिब ८ करोड विद्युत् बक्यौता उठाउन बाँकी Read Previous

तनहुँमा करिब ८ करोड विद्युत् बक्यौता उठाउन बाँकी

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी Read Next

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी