बिजुली बेचेर पौने ९ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी कसरी गयो घाटामा ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको खुद नोक्सानी घटेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ४ अर्ब ९ करोड ८२ रुपैयाँ नोक्सानीमा थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी, संचालन नाफा बढ्दा र खर्च घट्दा नोक्सानी घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७.९३ प्रतिशतले बढेर ८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन नाफा २८.३३ प्रतिशतले बढेर ३ अर्ब ९७ करोड पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७.८६ प्रतिशतले घटेर ६ अर्ब ६९ करोडमा झरेको छ । यस अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट पौने ९ अर्ब आम्दानी गरे पनि खर्च उच्च हुँदा घाटामा गएको हो ।

कम्पनीको दीर्घकालीन ऋण उच्च रहेकाले त्यसको ब्याज खर्च धेरै हुँदा  नोक्सानीमा गएको हो । कम्पनीको दीर्घकालीन ऋण अझै ७१ अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ । निर्माण अवधि लम्बिँदा लागत अस्वभाविक बढेको थियो । जसकारण अझै केही वर्ष नाफामा असर पर्ने कम्पनीले जनाएको छ ।

हाल २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.६९ रुपैयाँ ऋणात्मक छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३८.७० रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ५६.८८ रुपैयाँ छ ।

सानिमा बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट पाउने Read Previous

सानिमा बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट पाउने

नेपाल लाइफको खुद नाफा ५१ करोड, रिटेन्ड अर्निङमा कति ? Read Next

नेपाल लाइफको खुद नाफा ५१ करोड, रिटेन्ड अर्निङमा कति ?