काठमाडौं । डेढ महिना यता सेयर बजार निरन्तर उकालो लागिरहेको छ । गत असार १७ गते संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेका थिए । त्यसको भोलि पल्टदेखि नेप्सेले लगातार छलाङ हानिरहेको छ ।
राजनीतिक समीकरण बदलिसँगै उकालो लागेको नेप्सेलाई मौद्रिक नीतिले गतिलो साथ दियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरिदियो ।
त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाएको थियो । साथै, असल कर्जाको नोक्सानी व्यवस्था १.२ प्रतिशतबाट १.१ प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीमा बढाएर साढे २ करोड पुर्याउने लगायत व्यवस्था गरेको थियो । यी व्यवस्थाले बजार बढ्न झनै सहयोग पुर्यायो ।
अहिले बैंकको ब्याजदर २ वर्ष यताकै सस्तो छ भने बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ । बजार अनुकूल अवस्था रहेकाले नेप्सले गति लिएको हो ।
असार १७ यता मात्रै नेप्से परिसूचक ९०० अंक अर्थात् ४४ प्रतिशतले बढेर २९०० अंक माथि पुगिसकेको छ । कारोबार रकमले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार एकैदिन इतिहासकै धेरै २७ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । डेढ महिनामै लगानीकर्ताको सम्पत्ति ११ खर्ब रुपैयाँ बढेको छ ।
नेप्से बढ्दै जाँदा अधिकांश कम्पनीको मूल्यमा उच्च वृद्धि भएको छ । मूल्य बढेसँगै सूचीकृत कम्पनीहरूको बजार पूँजीकरण पनि ह्वात्तै बढेको छ । गत असारमा दुई कम्पनीको मात्रै बजार पूँजीकरण १ खर्ब रुपैयाँ माथि थियो भने आज त्यो संख्या बढेर ५ पुगेको छ ।
नेप्सेमा २७० वटा कम्पनी (डिबेन्चर म्युचुअल फण्डबाहेक) सूचीकृत रहेका छन् । तीमध्ये ५ वटा कम्पनी खर्बपति क्लबमा प्रवेश गरेका छन् । अर्थात् बजार पूँजीकरण १ खर्ब रुपैयाँ नाघेको छ ।
यी हुन् १ खर्ब बढी पूँजीकरण भएका ५ कम्पनी
१. नेपाल टेलिकम टेलिकम : नेप्सेमा सूचीकृत कम्पनी मध्ये बजार पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी हो । सोमबार यसको बजार पूँजीकरण २ खर्ब १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यो कुल बजार पूँजीकरणको ४.३२ प्रतिशत हो ।
नेप्सेमा टेलिकमको १८ करोड कित्ता सेयर सूचीकृत छ । कम्पनीको सोमबार प्रतिकित्ता ११२२ रुपैयाँमा कारोबार भएको छ ।
२. नबिल बैंक : पूँजीकरणका आधारमा नबिल बैंक सेयर बजारको दोस्रो ठूलो कम्पनी हो भने बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो ।
नेप्सेमा नबिल बैंकको २७ करोड ५ लाख ६९ हजार ९८४ कित्ता सूचीकृत छ । जसको बजार पूँजीकरण १ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रहेको छ । नबिल बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६४६.९० रुपैयाँ रहेको छ ।
चुक्ता पूँजीका आधारमा ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा ठूला भए पनि सेयर मूल्य कम हुँदा उनीहरूको पूँजीकरण १ खर्ब पुग्न सकेको छैन ।
३. नागरिक लगानी कोष : पूँजीकरणका आधारमा नागरिक लगानी कोष सेयर बजारको तेस्रो ठूलो कम्पनी हो । नेप्सेमा कोषको ६ करोड ५ लाख ७६ हजार ७५५ कित्ता सूचीकृत छ । यसको बजार पूँजीकरण १ खर्ब ४५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता २४०२ रुपैयाँमा कारोबार भएको छ ।
४. नेपाल पुनर्बीमा कम्पनी : यो कम्पनी पूँजीकरणका आधारमा सेयर बजारको चौथो ठूलो कम्पनी हो भने बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । नेप्सेमा पुनर्बीमाको १३ करोड ४२ लाख २१ हजार ८७१ कित्ता सेयर सूचीकृत छ । यसको बजार पूँजीकरण १ खर्ब ३१ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९८० रुपैयाँ छ ।
झण्डै साढे १३ अर्ब चुक्ता पूँजी रहेको कम्पनीमा सर्वसाधरणको हिस्सा १६ प्रतिशत रहेको छ भने सरकार, बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाको हिस्सा ८४ प्रतिशत रहेको छ ।
५. हिमालयन रि इन्स्योरेन्स : गत वर्ष मात्रै नेप्सेमा सूचीकृत भएको हिमालयन रि १ वर्षमै सेयर बजारको पाँचौं ठूलो कम्पनी बनेको छ । पछिल्लो डेड महिनामा कम्पनीको सेयर मूल्य झण्डै दोब्बरले बढेसँगै पूँजीकरणका आधारमा पाँचौं ठूलो बनेको हो ।
सोमबार कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । नेप्सेमा कम्पनीको १० करोड ४० लाख कित्ता सेयर सूचीकृत छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १०००.१० रुपैयाँ छ ।