काठमाडौं । सेयर बजारले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार एकैदिन ३ नयाँ रेकर्ड बनाएको नेप्सेले आज ती सबै रेकर्ड ब्रेक गरेको छ ।
आज इतिहासकै धेरै कारोबार, सर्वाधिक कित्ता सेयर किनबेच र बजार पूँजीकरणमा नयाँ कीर्तिमान बनेको हो । सोमबार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको छ । यो ३० महिना यताकै धेरै हो ।
उच्च अंकले बढेको बजारमा आज २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो नेप्सेको ३ दशक लामो इतिहासकै धेरै हो । यसअघि हिजो २५ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
त्यस्तै, आज एकैदिन ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ । यो आजसम्म कुनै एक दिनमा भएको सर्वाधिक कित्ता कारोबार हो । यसअघि साउन २७ गते ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, नेप्सेमा उछाल आउँदा लगानीकर्ताको सम्पत्ति एकैदिन १ अर्ब १२ अर्बले बढेर बजार पूँजीकरण ४६ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । यो पनि इतिहासकै धेरै हो । आइतबार बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको थियो ।
आज कारोबारमा आएका १३ वटै समूहमध्ये लगानी र उत्पादनमूलक बाहेक अरू सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.८१ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार समूहको परिसूचक पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २२ करोड रुपैयाँ बढीको १२ लाख ३७ हजार २४० कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ९२ करोड २८ लाख रुपैयँँ बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका मध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ ।
उच्च अंकले बढेको बजारमा आज १ डेढ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्यारेन्स, जोशी हाइड्रोपवार, रसुवागढी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, शुभम पावर र भिजन लुम्बिनी ऊर्जाका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेशनल हाइड्रोपावर, अरुण काबेली र आँखुखोला हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशत बढेको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।