काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २८८.१४ प्रतिशतले बढेको छ ।
गत वर्षको असार मसान्तसम्म कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३० करोड ८९ लाख रुपैयाँ धेरै हो । कम्पनीले अघिल्लो वर्षको असारसम्म १० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत् बिक्री हुने आम्दानी साढे ९ गुणाले बढेपछि कम्पनीको नाफामा उछाल आएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ३०१.०८ प्रतिशतले बढर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल आम्दानी १७०.८८ प्रतिशतले बढेर १ अर्ब ७१ दकरोड रुपैयँँ पुगेको छ ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च ४७ करोड ६३ लाख रुपैयाँबाट बढेर १ अर्ब १६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ५६ करोड रुपैयाँ संचिति छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १७३.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.६६ गुणा रहेको छ ।
कम्पनीले निजी क्षेत्रकै हालसम्मको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन १७ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।