काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ ।
कम्पनीले गत असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ३४ करोड रुपैयाँ कम हो । कम्पनीले अघिल्लो वर्षमा ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा शिवम्को बिक्री आम्दानी घट्नु, बिक्री लागत बढ्दा र अन्य आम्दानी घट्दा नाफामा उच्च गिरावट आएको हो ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ०.५८ प्रतिशतले घटेर ७ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ७ अर्ब ७५ करोड रुपैयाँ थियो।
कम्पनीको अन्य आम्दानी ४५.४२ प्रतिशतले घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत ३.२५ प्रतिशतले बढेर ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
निर्माण गतिविधिमा आएको सुस्तता, नेपालमा मागभन्दा धेरै सिमेन्ट उत्पादन हुनु, अन्तर्राष्ट्रिय बजारमा कोइला, डिजेल लगायत सामानको मूल्यवृद्धि, विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्दा लगायत कारणे व्यापारमा असर परेको कम्पनीले जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीको दीर्घकालीन ३९ लाख ५८ हजार रुपैयाँ र अल्पकालीन ऋण ६ करोड ९२ लाख रुपैयाँ छ । अन्य वित्तीय दायित्व ४ करोड ३१ लाख रुपैयाँ छ ।
हाल ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ५१ करोड संचिति छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ ।