जीवन बीमाले १ वर्षमा गरे डेढ खर्बको व्यवसाय, नेपाल लाइफले मात्रै ४१ अर्ब, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरूले डेढ खर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा  १७ बीमा (१४ जीवन बीमा र ३ लघु जीवन बीमा) कम्पनीले कुल १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

गत आवमा १४ जीवन बीमाले १ खर्ब ५६ अर्ब ३३ करोड र ३ लघु जीवन बीमा कम्पनीले १६ करोड ९७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

अघिल्लो आव २०७९/८० को तुलनामा गत आवमा जीवन बीमा व्यवसाय १४ अर्ब १४ करोड रुपैयाँ अर्थात् ९.९४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलयामान हुँदै जाँदा बीमा व्यवसायमा पनि सुधार आएको हो । गत आवमा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क र नवीकरण शुल्क दुवै वृद्धि भएको छ ।

गत वर्ष जीवन बीमा कम्पनीले ३४ अर्ब ५१ करोड ८९ करोड प्रथम बीम शुल्क र १ खर्ब २१ अर्ब ९८ करोड रुपैयाँ नवीकरण शुल्क उठाएको छ । अघिल्लो वर्षको तुलनामा प्रथम बीमा शुल्क सवा ३ अर्ब र नवीकरण शुल्क १० अर्ब ८७ करोड रुपैया बढेको छ ।

गत आवमा प्रिमियम संकलन बढे पनि सक्रिय बीमालेखको संख्या भने घटेको छ । अघिल्लो वर्षको तुलनामा सक्रिय बीमा लेखको संख्या २ लाख ५५ हजार ८२९ वटाले घटेको छ । अघिल्लो आवमा सक्रिय रहेको कुल बीमा लेखको संख्या १ करोड ४१ लाख ३७ हजार ३२१ रहेकोमा गत वर्ष १ करोड ३८ लाख ८१ हजार ४९२ रहेको छ । जबकि यस वर्ष तीनवटा लघु जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय थपिएको छ ।

नेपाल लाइफको वर्चश्व कायमै

गत वर्ष पनि जीवन बीमा व्यवसायमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । गत वर्ष नेपाल लाइफले मात्रै ४० अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.१० प्रतिशत हिस्सा हो ।

३ वटा कम्पनी मर्ज भई चुक्ता पूँजीका आधारमा नेपाल लाइफ जत्रै बनेको हिमालयन लाइफ व्यवसायमा भने निकै पछि छ । गत वर्ष व्यवसायका आधारमा हिमालयन लाइफ चौथो स्थानमा रहेको छ । यस कम्पनीले कुल १६ अर्ब ६१ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको छ ।

गत आवमा नेशनल लाइफले दोस्रो धेरै १९ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १८ अर्ब ११ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

५ वटा कम्पनीले ५ देखि १० अर्बको बीचमा बीमा शुल्क संकलन गरेका छन् । जसमा सूर्यज्योति लाइफ ९ अर्ब ५० करोड, राष्ट्रिय जीवन बीमाले ८ अर्ब ७१ करोड, एशियन लाइफले ८ अर्ब ५ करोड, सिटिजन लाइफले ६ अर्ब २२ करोड, सानिमा रिलायन्स लाइफले ६ अर्ब १९ करोड र मेट लाइफ इन्स्यारेन्सले ५ अर्ब ६८ करोड रुपैया बीमा शुल्क संकलन गरेका छन् ।

गत वर्ष ४ कम्पनीको बीमा शुलक ५ अर्ब रुपैयँँभन्दा कम छ । जसमा सन नेपाल लाइफले सबैभन्दा कम ३ अर्ब ८९ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । त्यस्तै, आइएमई लाइफले ४ अर्ब ७४ करोड, प्रभु महालक्ष्मीले ४ अर्ब ३७ करोड र रिलायबल लाइफले ४ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

लघु बीमाको हिस्सा नगन्य

लघु जीवन बीमा व्यवसायमा लघु बीमा कम्पनीहरूको हिस्सा नगन्य रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघु बीमा कम्पनीले वर्षभरीमा जम्मा १६ करोड ९७ लाख रुपैयाँ मात्र प्रिमियम संकलन गरेका छन् । यो कुल जीन बीमा व्यवसायको १.०८ प्रतिशत हो ।

गत वर्ष गार्डियन माइक्रो लाइफले ४ करोड २२ लाख, क्रेष्ट माइक्रो लाइफले ९ करोड ७६ लाख र लिबर्टी माइक्रो लाइफले २ करोड ९९ लाख रुपैयँँ प्रिमियम संकलन गरेका छन् ।

नेपालमा लगानी बढाउन बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई आग्रह Read Previous

नेपालमा लगानी बढाउन बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई आग्रह

नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत