सेयर लगानीकर्ताले एकैदिन गुमाए सवा २ खर्ब, कारोबारमा भने नयाँ रेकर्ड

काठमाडौं । सेयर बजारमा इतिहासकै ठूलो पहिरो गएको छ । मंगलबार एकैदिन नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा आइपुगेको छ । २०७७ मंसिरमा २१ गते १२३.३४ अंकले घटेको थियो ।

गत असार १७ गतेदेखि लगातार उकालो लागेर ८०० अंकले बढेको नेप्सेमा आज एकैदिन १४५ अंकको गिरावट आएको हो । १ महिनादेखि एकोहोरो बढेको सेयर बजारमा प्रफिट बुक गर्ने हाबी हुँदा ठूलो करेक्सन आएको लगानीकर्ता बताउँछन् ।

बैंक तथा फाइनान्स कम्पनीहरुले गत वर्ष खुद नाफा बढाए पनि वितरण योग्य नाफा घटेको छ । अधिकांश फाइनान्स र आधादर्जन बढी बैंकले लाभांश दिनसक्ने अवस्था छैन । अपेक्षित लाभांश पाउने नदेखिँदा लगानीकर्ता निरास हुँदा पनि बजारमा ठूलो गिरावट आएको हो ।

त्यस्तै, पछिल्लो समय वित्तीय अवस्था बलियोभन्दा पनि कमजोर कम्पनीहरुको भाउ अस्वभाविक बढेको थियो । सो बारे सदनमा समेत आवाज उठेको थियो । सांसदहरुले चलखेल गर्नेलाई काराबाहीको दायारामा ल्याउनुपर्ने बताएका थिए । यसले पनि केही प्रभाव पारेको लगानीकर्ताको भनाइ छ ।

नेप्सेमा पहिरो जाँदा लगानीकर्ताले आज एकैदिन २ खर्ब ३० अर्ब रुपैयाँ गुमाएका छ । सोमबार ४४ खर्ब ३८ अर्ब रहेको कुल बजार पूँजीकरण आज घटेर ४२ खर्ब ८ अर्बमा झरेको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने नयाँ रेकर्ड बनेको छ । आज एकैदिन २३ अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । इतिहासकै धेरै हो । यसअघि गत साउन १६ गते सर्वाधिक २१ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

आज ३२२ कम्पनी ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भएको छ । कित्ताका आधारमा यो पनि आजसम्म कुनै एक दिनमा किनबेच भएको सबैभन्दा धेरै हो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । होटल र फाइनान्स समूहको परिसूचक सर्वाधिक ८ प्रतिशतभन्दा धेरैले घटेको छ । त्यस्तै, लगानी, जीवन बीमा समूहको परिसूचक ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३९ करोड रुपैयाँ बढीको १६ लाख १६ हजार २३३ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका मध्ये २३३ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ८ कम्पनीको मात्र बढेको छ ।

पहिरो गएको बजारमा आज १ दर्जन् कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स, गोर्खा फाइनान्स, सेन्टर फाइनानस, पञ्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम पावर, हाथवे इन्भेष्टमेन्ट, ओरेन्टल होटल, श्र इन्भेष्टमेन्ट, तारगाउँ रिजेन्सीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज थ्री स्टार हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

सानिमा बैंकका ग्राहकले दूसित थानी हिमालयन रिसोर्टमा छुट पाउने Read Previous

सानिमा बैंकका ग्राहकले दूसित थानी हिमालयन रिसोर्टमा छुट पाउने

फास्ट ट्रयाक अन्तर्गत बकैया नदीमा ८ पुल निर्माण गरिँदै Read Next

फास्ट ट्रयाक अन्तर्गत बकैया नदीमा ८ पुल निर्माण गरिँदै