चैतको तुलनामा घट्यो बैंकहरूको खराब कर्जा, ८ बैंकको भने ४ प्रतिशत माथि

काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जामा सुधार आएको छ । आर्थिक मन्दीका कारण गत वर्षदेखि त्रैमासैपिच्छे बैंकहरूको खराब कर्जा लगातार बढिरहेको थियो । तर, चैत यता भने घट्दो क्रममा रहेको देखिएको छ ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूको औसत खराब कर्जा ३.३८ प्रतिशतमा झरेको छ ।

जबकि तेस्रो त्रैमास (चैत मसान्तसम्म)मा बैंकहरूको औसत खराब कर्जा ३.६३ प्रतिशत थियो । चैतको तुलनामा असार मसान्तमा बैंकहरूको खराब कर्जा ०.२५ प्रतिशत बिन्दुले घटेको छ ।

यद्यपि, अघिल्लो आव २०७९/८० को तुलनामा भने बैंकहरूको खराब कर्जा ०.४७ प्रतिशत बिन्दुले बढेको छ । सो आवमा बैंकहरूको खराब कर्जा औसतमा २.८० प्रतिशत थियो ।

राष्ट्र बैंकले दिएको सहुलियत र बैंकहरू कर्जा असुलीमा केन्द्रीत हुँदा चैतको तुलनामा बैंकहरूले खराब कर्जा घटाउन सफल भएका हुन् ।

पछिल्ला केही महिना यता अर्थतन्त्रमा क्रमशः सुधार आउन थालेको छ । जसकारण ऋणीले केही मात्रमा भए पनि बैंकको ऋण तिर्न थालेका छन् । त्यस्तै, बैंकहरू पनि नयाँ कर्जा लगानीभन्दा पुरानो कर्जा असुलीमा केन्द्रीत भएका छन् । गत असारमा बैंकहरूले ऋणीलाई जरिवाना, हर्जाना छुट दिएरै भए पनि कर्जा असुल्ने अभियान नै चलाएका थिए । सोही कारण विगतमा डुबेको ऋण केही असुली हुँदा बैंकहरूले खराब कर्जा घटाएका हुन् ।

त्यस्तै, राष्ट्र बैंकले निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था गरेको छ । यसले पनि खराब कर्जा घटाउन सफल भएका हुन् ।

खराब कर्जामा सुधार आएसँगै बैंकहरूको नाफा १३.४० प्रतिशतले बढेको छ । गत वर्ष बैंकहरूले ६४ अर्ब १५ करोड ३) लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आवको तुलनामा ७ अर्ब ५७ करोड रुपैयाँ धेरै हो । अघिल्लो आव २०७९र८० मा बैंकहरूले कुल ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

८ बैंकको खराब कर्जा ४ प्रतिशत माथि

असार मसान्तसम्म २० वाणिज्य बैंकहरूमध्ये ८ वटाको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ । गत चैत मसान्तसम्म १० बैंकको खराब कर्जा ४ प्रतिशत माथि थियो ।

खराब कर्जा धेरै हुनेमा मर्जरमा गएका बैंकहरू धेरै रहेका छन् । मर्जरअघि कमजोर बैंकले लगानी गरेको कर्जा अहिले असुली हुन नसक्दा खराब कर्जा ह्वात्तै बढेको हो । मर्जरबाट पूँजी परिचालन गरेर सिनर्जी हासिल गर्न नसक्दा यी बैंकहरूले वित्तीय सफलता हात पार्न नसकेका हुन् ।

असारसम्म सिटिजन्स, ग्लोबल आइएमई, प्राइम कमर्शियल, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, नेपाल इन्भेष्टमेन्ट र कुमारी बैंकको खराब कर्जा ४ प्रतिशत माथि छ । जसमा ६ बैंकको साढे ४ प्रतिशत माथि छ ।

समीक्षा अवधिमा कुमारी र इन्भेष्टमेन्ट मेगाको खराब कर्जा सबैभन्दा समान ४.९५ प्रतिशत छ । त्यस्तै, हिमालयन ४.९१ प्रतिशत, प्रभु ४.७८ प्रतिशत, लक्ष्मी ४.७२ प्रतिशत, प्राइम ४.६७ प्रतिशत, ग्लोबल ४.०७ प्रतिशत र सिटिजन्स ४.०७ प्रतिशत रहेको छ ।

त्यस्तै, एनएमबी, नेपाल, कृषि विकास, माछापुच्छ्रे नबिल र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३ देखि ४ प्रतिशत छ ।

त्यसैगरी, नेपाल एसबीआइको २ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको २.१४ प्रतिशत, एनआइसी एशिया १.७४ प्रतिशत, सानिमाको खराब कर्जा १.७३ प्रतिशत छ ।

असार मसान्तसम्म दुई बैंकको मात्र खराब कर्जा १ प्रतिशतभन्दा कम छ । जसमा एभरेष्ट बैंकको सबैभन्दा कम ०.७१ प्रतिशत मात्रै छ । त्यस्तै, सिद्धार्थ बैंकको ०.७५ प्रतिशत मात्र रहेको छ ।

नेपाली मुद्रा झन्झन् कमजोर बन्दै, डलरको मूल्य हालसम्मकै उच्च Read Previous

नेपाली मुद्रा झन्झन् कमजोर बन्दै, डलरको मूल्य हालसम्मकै उच्च

आइपीओकै भाउमा एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर किन्ने अवसर Read Next

आइपीओकै भाउमा एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर किन्ने अवसर