कास्कीमा एक वर्षमा ६४९ नयाँ उद्योग थपिए

कास्की । कास्कीमा गत एक वर्षका अवधिमा ६४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना ६३६ वटा छन् ।

नयाँ उद्योगमा रु १ अर्ब ९१ करोड ८४ लाख ५२ हजार पूँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए ।

उनका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ सेवामूलक उद्योग २४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग १६२, पर्यटन उद्योग १६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् ।

सो वर्षमा ऊर्जा तथा खनिजमूलक कुनै पनि उद्योग दर्ता भएनन् । एक वर्षमा दर्ता भएका उद्योगमा महिला नौ सय ३९ र पुरुष १ हजार ११८ गरी २ हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ ।

यसैगरी, गत वर्ष ३६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार थपिएका उद्योगको ५० प्रतिशत सङ्ख्या खारेज भएका छन् ।

‘नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ । आर्थिक गतिविधिमा शिथिलता, विदेश जाने प्रवृत्ति र धेरै ठाउँमा कर तिर्नुपर्ने बाध्यतालगायत कारणले उद्योग खारेजीका लागि आउने गरेका छन्,’ कार्यालय प्रमुख ढकालले भने ।

कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार २७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार ८३२ वटा खारेज भई १८ हजार ४४६ सञ्चालमा रहेका छन् ।

यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार १७० रहेको छ । गत आवमा १ हजार १९३ वाणिज्य फर्म दर्ता भएकामा ४२१ वटा खारेज भएका थिए । पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म ४६२ ट्राभल्स, २३८ ट्रेकिङ, ४७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

एभरेष्ट बैंकको चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै, लाभांश क्षमता सबैभन्दा बढी Read Previous

एभरेष्ट बैंकको चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै, लाभांश क्षमता सबैभन्दा बढी

सुनको मूल्य तोलाको डेढ लाख पुग्यो Read Next

सुनको मूल्य तोलाको डेढ लाख पुग्यो