काठमाडौं । खेतान समूहले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिको सेयर बिक्री गरेको छ । डेनिस ब्रुअर कार्ल्सबर्गले ‘कार्ल्सबर्ग साउथ एसिया पीटीई’को सेयर किन्न सीएसएपीएल सिंगापुर होल्डिङसँग सम्झौता गरेको हो ।
सीएसएपीएलसँग कार्ल्सबर्ग साउथ एसिया पीटीइ अन्तर्गत गोरखा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर थियो । कार्ल्सबर्गले खेतान समूहको सेयर खरिद गर्न लागेको शुक्रबार जानकारी दिएको हो ।
सम्झौता अनुसार कार्ल्सबर्गले ७४ करोड ४० लाख डलर (करिब १ खर्ब ३ अर्ब रूपैयाँ)मा खेतान समूहको सेयर किन्ने भएको हो ।
यससँगै अब कार्ल्सबर्ग साउथ एसिया पीटीई लिको गोरखा ब्रुअरी प्रालिमा हाल रहेको ९० प्रतिशत सेयर स्वामित्व बढेर ९९.९४ प्रतिशत पुग्ने भएको छ।
हाल कार्ल्सबर्ग इण्डिया पीटीई लिमा भारतको शत प्रतिशत लगानी छ। गोरखा ब्रुअरी प्रालिमा लगानी भएसँगै कार्ल्सबर्ग साउथ एसिया पीटीइले यहाँको ९९.९४ प्रतिशत व्यवसाय आफू मातहत आउने उल्लेख गरेको छ।
‘हाम्रो साझेदारसँग यो सौहार्दपूर्ण सम्झौता हुन सकेको र यससँगै एसियाका दुई महत्त्वपूर्ण व्यवसायमा पूर्ण नियन्त्रण पाएकोमा हामी खुशी छौं,’ कार्ल्सबर्गका ग्रुपका सीईओ ज्याकोभ आरुप एण्डरसनले भनेका छन् ।
सन् २०२४ भित्रै कारोबार सम्पन्न गरिने कम्पनीले जनाएको छ । नेपालमा हुने कारोबारको लागि यहाँको सरकारसँग अनुमति लिन बाँकी रहेको र त्यो सन् २०२४ भित्रै सम्पन्न भइसक्ने विज्ञप्तिमा उल्लेख छ ।