नेप्सेले रेकर्ड नतोड्दै दुई सेक्टरको परिसूचकले बनायो ‘अल टाइम हाइ’को रेकर्ड

काठमाडौं । झण्डै ३ वर्षदेखि बियरिस ट्रेन्डमा रहेको नेप्से गत असार १७ गतेदेखि लगातार उकालो लागिरहेको छ । १ महिनाकै अवधिमा नेप्से परिसूचक झण्डै ७५० अंकले बढेको छ ।

२०७८ भदौ २ गते इतिहासकै सर्वाधिक ३१९८ बिन्दु पुगेको नेप्से अहिले २७५५.५२ बिन्दुमा पुगेको छ । पछिल्लो समय कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । बुधबार एकैदिन २१ अर्ब ९१ करोड हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको छ । त्यस्तै, बिहीबार पनि २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो ।

नयाँ सत्ता समीकरण परिवर्तन भएसँगै उकालो लागेको नेप्से मौद्रिक नीतिले झनै गति लिएको छ भने आगामी दिनहरूमा वृद्धिले निरन्तरता पाउने केही आधार पनि देखिन्छन् ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा संस्थागततर्फ लगाइएको २० करोडको सीमा खारेज गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाएको छ । बैंकहरूले साउन मसान्तसम्म उठाएको ब्याज अघिल्लै आवमा देखाउन पाउने, असल कर्जाको नोक्सानी व्यवस्था १.२ प्रतिशतबाट १.१ प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीमा बढाएर साढे २ करोड पुर्याउने लगायत व्यवस्था गरेको छ । यिनै कारणले अहिले सेयर बजारमा तीव्र वृद्धि आएको देखिन्छ ।

त्यस्तै, कात्तिकदेखि बैंकहरूले लगातार ब्याजदर घटाइरहेका छन् । अहिले बैंकको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । एकल अंकमै कर्जा पाउने अवस्था छ । त्यस्तै, बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ ।

सुधारोन्मुख अर्थतन्त्रका सूचक, खुकुलो मौद्रिक नीति, घट्दो ब्याजदर, अधिक तरलताका साथै राजनीतिक स्थिरता समेत छाउने देखिएकाले आगामी दिनमा नेप्सले नयाँ रेकर्ड बनाउने लगानीकर्ताको अपेक्षा छ ।

दुई सेक्टरले तोड्यो ‘अलटाइम हाइ’को रेकर्ड

नेप्सेले ‘अल टाइम हाइ’को रेकर्ड तोड्न अझै ४४३ अंक बढ्न बाँकी छ । तर, नेप्सेमा सूचीकृत १३ मध्ये दुई समूहको परिसूचकले भने अलटाइम हाइको रेकर्ड ब्रेक गरिसकेको छ ।

होटल तथा पर्यटन र फाइनान्स समूहको परिसूचकले यसअघिको उच्चतम बिन्दुको रेकर्ड तोडेका हुन् । उत्पादनमूलक समूहको परिसूचकले पनि अल टाइम हाइको रेकर्ड बनाउन २२ अंक मात्र बढ्न बाँकी छ ।

होटल समूहको परिसूचकले यसअघि २०८० पुस ४ गते बनाएको ६१८६.५१ बिन्दुको अलटाइम हाइको रेकर्ड तोड्दै ७२९२.३५ बिन्दुमा पुगेको छ । होटल समूहले गत महिनामै अलटाइम हाइको रेकर्ड तोडेको हो ।

एक वर्षमा होटल समूहको परिसूचक ५८ प्रतिशतले बढेको छ । पर्यटन क्षेत्रमा आएको सुधारका कारण होटलहरूको नाफामा उल्लेख्य वृद्धि हुँदा सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको हो ।

त्यस्तै, फाइनान्स समूहको परिसूचकले २०७८ भदौ ३१ गते बनाएको ३३४२.७० बिन्दुको अलटाइम हाइको रेकर्ड तोड्दै बिहीबार ३५६८.८५ बिन्दुमा पुगेको छ ।

अन्य क्षेत्रको कम्पनीको तुलनामा फाइनान्स कम्पनीको वित्तीय अवस्था निकै कमजोर भए पनि परिसूचकले भने नयाँ रेकर्ड बनाएको हो । १ वर्षमै फाइनान्स कम्पनीको सेयर भाउ ९ गुणासम्म बढेको छ ।

गत आवको चैत मसान्तसम्म सूचीकृत १५ मध्ये ८ कम्पनी घाटामा छन् । समग्रमा फाइनान्सहरू ३५ करोड ९९ लाख रुपैयाँ नोक्सानीमा छन् भने रिटेन्ड अर्निङ ३ अर्ब ९५ करोड रुपैयाँ ऋणात्मक छ । मञ्जुश्री र मल्टिपर्पस फाइनान्स बाहेक अरु सबैको रिटेन्ड अर्निङ ऋणात्मक छ । खराब कर्जा औसतमा ८.९९ प्रतिशत रहेको छ भने औसत प्रतिसेयर आम्दानी २.३७ रुपैयाँ ऋणात्मक छ ।

तर, कमजोर वित्तीय अवस्था र प्रतिफल दिन नसक्ने अवस्था देख्दादेख्दै पनि लगानीकर्ता फाइनान्सको सेयरमा झुम्मिएको देखिन्छ । यसको मुख्य कारण भने स्वार्थ समूहको चलखेल नै रहेको जानकारहरू बताउँछन् ।

बैंक, विकास बैंक, बीमा लगायत कम्पनीको तुलनामा फाइनान्सको सेयर संख्या निकै कम छ । फाइनान्सहरू लो क्यापिटल भएका कारण ठूला खेलाडीहरूले सजिलै चलखेल गरी मूल्य उचाल्ने र नाफा कमाउन सक्ने भएकाले जबरजस्ती आकर्षण बढाइएको हो ।

व्यवसाय वृद्धि भएकाले उच्च प्रतिफल पाउने आसमाभन्दा पनि छोटो समयमै चलखेल गरी नाफा कमाउन सक्ने भएकाले फाइनान्सको आकर्षण बढेको हो । यद्यपि, लहडको पछि लागेर सेयर कारोबार गर्दा धेरै जोखिम हुने भएकाले लगानीकर्ता स्वयम् सचेत हुनुपर्छ ।’

कक्षा १२ को नतिजा सार्वजनिक, ४७ प्रतिशत विद्यार्थी फेल Read Previous

कक्षा १२ को नतिजा सार्वजनिक, ४७ प्रतिशत विद्यार्थी फेल

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा Read Next

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा