काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २४.८१ प्रतिशतले घटेको हो ।
लघुवित्तले गत आवको असार मसान्तसम्ममा ७५ लाख ५० रुपैयाँ कमाएको छ । यो अघिल्लो आव २०८०र८० को तुलनामा २५ लाख रुपैयाँ कम हो । लघुवित्तले अघिल्लो वर्ष असारसम्म १ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन नाफा घट्दा र खराब कर्जा ह्वात्तै बढ्दा नाफामा भारी गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको संचालन मुनाफा १८.७५ प्रतिशतले घटेर १ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तले ९० करोड ४२ लाख रुपैयाँ निक्षेप र २ अर्ब ६० करोड रुपैयाँ सापटी लिई कुल ३ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियमा ४ करोड ५५ लाख र जगेडा कोषमा १० करोड १९ लाख रुपैयाँ संचित छ । लघुवित्तको वितरण योग्य नाफा भने २२ लाख ८९ हजार ऋणात्मक छ ।
नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३.१४ रुपैयाँबाट घटेर २.३६ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १४५.४१ रुपैयाँ छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा २.३७ प्रतिशतबाट बढेर ३.६५ प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ५३.३२ प्रतिशतले बढेर १७ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।