तल्लो सेती जलविद्युत्का लागि ५०० रोपनी जग्गा अधिग्रहण

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि ५०० रोपनी जग्गा अधिग्रहण गरेको छ ।

मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जलविद्युत् आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

आयोजनाबाट ऋषिङ गाउँपालिकाको वडा नं १ र ३, बन्दीपुर गाउँपालिको–६, देवघाट गाउँपालिका-२, ३ र ४, आँबुखैरनी गाउँपालिका-५ र ६, व्यास नगरपालिकाको १३ र १४ तथा चितवनको भरतपुर महानगरपालिकाको वडा नं २९ प्रभावित हुने बताइएको छ ।

बन्दीपुर गाउँपालिका-६ तथा देवघाट गाउँपालिका-३ को सिमान सराङघाट नजिक २१३ मिटर लम्बाइ, ३२ मिटर उचाइ र २०० मिटर चौडाइ भएको बाँध निर्माण गरिने प्रमुख भण्डारीले बताए ।

नेपाल विद्युत् प्राधिकारणको पूर्ण स्वामित्वको तनहुँ जलविद्युत् आयोजनाले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना सुरु गरेको हो ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना हाइड्रोपावर लिमिटेड निर्माणसँगै कम्पनीले तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि काम अघि बढाइएको आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए ।

करिब १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा तल्लो सेती आयोजना निर्माण प्रस्ताव गरिएको हो । उत्पादित विद्युत् तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको२२० केभी दमौली-नयाँ भरतपुर प्रसारण लाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा प्रवाह गरिने श्रेष्ठले बताए।

देवघाट-४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्ने उहाँले जानकारी दिए । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ ।

एनआइसी एशियाका ४ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ? Read Previous

एनआइसी एशियाका ४ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

एकैपटक ३ कम्पनीको सेयर लिलामीमा आयो, कुनको कति ? Read Next

एकैपटक ३ कम्पनीको सेयर लिलामीमा आयो, कुनको कति ?