निर्जीवन बीमाले १ वर्षमा गरे साढे ४१ अर्बको व्यापार, शिखरको ५ अर्ब नाघ्दा अरूको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ मा साढे ४१ अर्बको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत वर्ष १४ निर्जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीले कुल ४१ अर्ब ४६ करोढ ६१ लाख रुपैयाँ बीमा शुल्क (प्रिमियम) संकलन गरेका हुन् ।

अघिल्लो आवको तुलनामा गत वर्ष निर्जीवन बीमा व्यवसाय ३.१२ प्रतिशतले बढेको छ । आव २०७९/८० मा निर्जीवन बीमा कम्पनीहरूले कुल ४० अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनमा गत आवमा बीमा शुल्क १ अर्ब २५ करोड रुपैयाँले बढेको छ ।

गत वर्ष १४ निर्जीवन बीमा कम्पनीले कुल ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ र ४ निर्जीवन लघुबीमा कम्पनीले २९ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । असार महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ८९ करोडरुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवमा निर्जीवन बीमा कम्पनीहरूले कुल २९ लाख ७७ हजार ११६ वटा बीमालेख जारी गरेका छन् ।

पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेसँगै निर्जीवन बीमा व्यवसायमा पनि सुधार आएको हो । गत आवको माघसम्म घट्दो क्रममा रहेको निर्जीवन बीमा व्यवसायमा फागुनदेखि क्रमशः सुधार देखिन थालेको थियो ।

सरकार र नेपाल राष्ट्र बैंकको प्रयास र नीतिगत लचकताका कारण पछिल्ला महिनाहरूमा अर्थतन्त्र चलायमान हुँदै गएको छ । जसको सकारात्मक प्रभाव बीमा व्यवसायमा पनि देखिएको हो ।

शिखर बन्यो सर्वाधिक व्यवसाय गर्ने

निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्यारेन्सले आफ्नो वर्चश्व कायमै राखेको छ । गत वर्ष शिखर इन्स्योरेन्सले सर्वाधिक ५ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । ५ अर्ब माथि प्रिमियम उठाउने शिखर एक्लो कम्पनी हो ।

समीक्षा अवधिमा शिखरको व्यवसाय अन्य तीन कम्पनीको कुल व्यवसायभन्दा धेरै हो । नेशनल, नेपाल र राष्ट्रिय बीमा कम्पनीले गत वर्ष कुल ४ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले ४ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । मर्जरबाट ठूला बनेका यी कम्पनीले व्यवसायमा भने शिखरलाई टक्कर दिन नसकेको देखिन्छ । चुक्ता पूँजीका आधारमा सलिको र सिद्धार्थ शिखरभन्दा ठूला भए पनि मर्जरबाट सिनर्जी प्राप्त गर्न नसक्दा शिखरलाई उछिन्न नसकेका हुन् ।

साविकको सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी (सलिको)ले शिखरलाई पछ्याएको छ । तर, उछिन्न सकेको छैन । गत आवमा सलिकोले दोस्रो धरै ४ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, साविकको सिद्धार्थ र प्रिमियर मर्ज भई बनेको सिद्धार्थ प्रिमियर पनि व्यवसायमा शिखरभन्दा निकै पछि छ । गत वर्ष सिद्धार्थ प्रिमयरले ४ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो शिखरकोभन्दा १ अर्ब २९ करोड रुपैयाँ कम हो ।

त्यस्तै, मर्ज भई बनेका आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट र सानिमा जीआइसी व्यवसायमा शिखरको छेउछाउ समेत पुग्न सकेका छैनन् । गत वर्ष हिमालयन एभरेष्टले ३ अर्ब ७२ करोड, आइजीआई प्रुडेन्सियलले ३ अर्ब ६५ र नेकोले ३ अर्ब १४ करोड प्रिमियम संकलन गरेका छन्

गत वर्ष ४ कम्पनीको प्रिमियम २ देखि ३ करोडको बीचमा रहेको छ । जसमा युनाइटेड अजोड २ अर्ब ७३ करोड, सानिमा जीआइसी २ अर्ब ६२ करोड, एनएलजी २ अर्ब ५५ करोड र ओरेन्टले २ अर्ब १६ करोडकोृ व्यवसाय गरेका छन् ।

गत वर्ष ४ कम्पनीले भने २ अर्बभन्दा कम प्रिमियम संकलन गरेका छन् । जसमा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम १ अर्ब २० करोड मात्र बीम शुलक संकलन गरको छ । त्यस्तै, नेपाल र राष्ट्रिय बीमा कम्पनी समान र १ अर्ब ५९ करोड र प्रभस इन्स्योरेन्सले १ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

लघुबीमाको हिस्सा १ प्रतिशतभन्दा कम

निर्जीवन बीमा व्यवसायमा लघुबीमा कम्पनीहरूको हिस्सा नगन्य देखिएको छ । गत वर्षदेखि संचालनमा आएका ४ लघुबीमा कम्पनीले २९ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको ०.७१ प्रतिशत मात्रै हो ।

नयाँ योजना ल्याउन नसक्दा लघुबीमाले अपेक्षित रुपमा व्यवसाय बढाउन नसकेको देखिएको छ । गत वर्ष नेपाल माइक्रो इन्स्योरेन्सले १० करोड ३१३ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ९ करोड, स्टार माइक्रोले ६ करोड ८७ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ३ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सेयर कारोबारमा नयाँ रेकर्ड, दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

सेयर कारोबारमा नयाँ रेकर्ड, दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह Read Next

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह