काठमाडौं । अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमेरेलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
सोमबारकै मन्त्रिपरिषद् बैठकले एकैपटक २१ सचिवहरुलाई सरुवा गरेको छ । जसअनुसार हालका अर्थसचिव मधुकुमार मरासिनी उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।
त्यस्तै, राजस्व सचिवमा हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे सरुवा भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयो अनुसन्धान आयोगमा सरुवा गरिएको छ भने अख्तियारका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई उर्जा मन्त्रालयमा, ऊर्जा आयोगका केशवकुमार शर्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ भने पराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याललाई सञ्चार मन्त्रालयमा ल्याइएको छ ।