बैंकको सेयर मूल्य ७४ प्रतिशतसम्म बढ्यो, यस कारण बढ्दै छ आकर्षण

काठमाडौं । पछिल्लो एक महिनामा वाणिज्य बैंकको सेयरमा उछाल आएको छ । ३ वर्षदेखि बियरिस ट्रेन्समा रहेको सेयर बजारले गतिलिएसँगै वाणिज्य बैंकको सेयर मूल्यमा पनि उच्च वृद्धि भएको हो ।

गत असार १७ गते संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले बीच सत्ता सहकार्य गर्न सहमति भएको थियो । त्यसयता नेप्से परिसूचक ६५० अंक अर्थात् ३० प्रतिशतले बढेको छ । यही अवधिमा बैंकिङ समूहको परिसूचक भने ४८ प्रतिशतले बढेको छ । असार १६ गते १०६६ बिन्दुमा रहेको बैंकिङ समूह्को परिसूचक सोमबार १५७३ बिन्दुमा पुगेको छ ।

असारमा अधिकांश बैंकको सेयर मूल्य ३ वर्ष यताकै न्यूनतम बिन्दुमा पुगेको थियो । तर, पछिल्लो एक महिनामै बैंकहरूको सेयर मूल्य औसतमै ५९ प्रतिशतले बढेको छ । असार १७ यता वाणिज्य बैंकहरूको सेयर मूल्य न्यूनतम ४० देखि अधिकतम ७४ प्रतिशतसम्मले बढेको छ ।

जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७३.६८ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्टको १ वर्षको न्यूनतम मूल्य प्रतिकित्ता १४७.४ रुपैयाँ रहेकोमा सोमबारसम्म प्रतिकित्ता १०८ रुपैयाँले बढेर २५६ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, प्रभु बैंकको सेयर मूल्य ७३.४१ प्रतिशतले बढेको छ । १ वर्षमा प्रभुको न्यूनतम मूल्य प्रतिकित्ता १३२ रुपैयाँ रहेकोमा सोमबार २२८.९ रुपैयाँ पुगेको छ । त्यस्तै, कुमारी, सिटिजन्स र एनएमबी बैंकको सेयर मूल्य ७१ प्रतिशतले बढेको छ ।

यस अवधिमा स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य सबैभन्दा कम ४० प्रतिशतले बढको छ । एक वर्षको न्यूनतम मूल्य ४९७ रुपैयाँ रहेकोमा सोमबार ६९६ रुपैयाँ पुगेको छ । त्यस्तै, ग्लोबल आइएमई, एभरेष्ट र नेपाल बैंकको सेयर मूल्य ४८ प्रतिशतभन्दा थोरैले बढेको छ ।

यसकारण बढ्दै छ बैंकको सेयरमा आकर्षण

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा संस्थागततर्फको २० करोडको सीमा खारेज गरेको छ। यसले लगानीकर्ता उत्साहित हुँदा कारोबार र सूचक दुवैले छलाङ हानिरहेको छ ।

विगतमा नेप्से बढ्दा पनि वाणिज्य बैंकको सेयर मूल्य बढ्न सकेको थियो । बैंकको चुक्ता पूँजी धेरै हुँदा अधिक आपूर्तिका कारण खासै मूल्य बढ्न सकेको थिएन । तर, मौद्रिक नीतिपछि आइतबार बैंकिङ सूचकमै पोजेटिभ सर्किट हानेको थियो ।

वाणिज्य बैंकको सेयर मूल्य बढ्नुमा अहिले मुख्य २ कारण देखिन्छन् छन् । पहिलो, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्था । दोस्रो, सस्तो सेयर मूल्य ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकको व्यवसायसँगै नाफा बढ्ने व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकले असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गरेको छ । यस व्यवस्थाबाट समग्रमा बैंक तथा वित्तीय संस्थाको संचालन मुनाफामा ५ अर्ब रुपैयाँ वृद्धि हुने बैंकरहरू बताउँछन् ।

त्यस्तै, राष्ट्र बैंकले विद्यमान रेगुलेटरी रिटेल पोर्टोफोलियोको सीमालाई २ करोडबाट बढाएर २ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । यस व्यवस्थाले बैंकहरूको पूँजी कोषमा राहत भई कर्जा विस्तारमा सहज हुने छ ।

त्यसैगरी, निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा रकम घट्न गई मुनाफामा वृद्धि हुने देखिन्छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधिनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी देखाउने पाउने व्यवस्था गरेको छ । यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफासँगै वितरण योग्य नाफा बढाउने छ । नाफा बढ्दा लगानीकर्ताले पाउने प्रतिफल पनि बढ्ने भएकाले लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएका हुन् ।

यसैगरी, निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप, चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने, व्यवसायीको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१र८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने लगायत व्यवस्था गरेको छ । यस व्यवस्थाले बैंकहरूको खराब कर्जा घटाउने, नोक्सानी व्यवस्थापनका लागि छुट्याउनु पर्ने रकम घट्नुका साथै बैंकहरूको मुनाफामा वृद्धि हुनेछ ।

बैंकको सेयर मूल्य बढ्नुको अर्को कारण हो सेयर मूल्य सबैभन्दा सस्तो हुनु । नेप्सेमा १३ क्षेत्रका कम्पनी सूचीकृत छन् । जसमा वाणिज्य बैंक सबैभन्दा सस्तो सेयर मूल्य हुने समूह हो । गत महिनासम्म अधिकांश बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा पनि तल थियो । अहिले पनि १ दर्जन बढी बैंकको सेयर मूल्य २००–३०० रुपैयाँ बीचमा छ । अन्य क्षेत्रका अधिकांश कम्पनी (केही हाइड्रो बाहेक)को सेयर मूल्य निकै महँगो रहेकाले लगानीकर्ता सस्तो मूल्य रहेका बैंकमा आकर्षित भएको देखिन्छ । मौद्रिक नीतिका व्यवस्थाले बैंकको नाफा बढ्ने र लाभांश समेत पाउने आसमा अहिले सस्तो मूल्यमा सेयर किनेको देखिन्छ ।

 

अर्थ सचिवमा रामप्रसाद घिमिरे, राजस्वमा दिनेशकुमार Read Previous

अर्थ सचिवमा रामप्रसाद घिमिरे, राजस्वमा दिनेशकुमार

साइमेक्स इंकले कालिमाटीमा रोप्यो ५५० बिरुवा Read Next

साइमेक्स इंकले कालिमाटीमा रोप्यो ५५० बिरुवा