काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले २०८१ साउन मसान्तसम्म उठेको ब्याज रकम पनि गत आर्थिक वर्ष २०८०/८१ कै आयमा गणना गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो सुविधा दिइएको जानकारी गराएको हो ।
‘बैंक तथा संस्थाले लेखा नीति बमोजिम आर्थिक वर्ष २०८०/८१ मा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।
यसअघि साउन १५ सम्म उठेको ब्याजलाई मात्र असारसम्मको आयमा गणना गर्न पाउने सुविधा थियो । थप १५ दिनको ब्इाज गत वर्षकै आम्दानी गणना गर्न पाउने भएसँगै बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने भएको छ ।
यस्तै, हालसम्म एनएफआरएस लागू भइनसकेका लघुवित्त वित्तीय संस्थाहरूको हकमा पनि गत वर्ष असार मसान्तसम्म पोकेका ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय सिंस्थाहरूले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउने राष्ट्र बैंकले जनाएको छ ।