उद्योग क्षेत्रमा २ खर्बको लगानी प्रस्ताव, वैदेशिक लगानी ६१ प्रतिशत बढ्यो

"४३४ उद्योग दर्ता"

सांकेतिक तस्वीर

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको उद्योग क्षेत्रमा २ खर्ब रुपैयाँ बढी लगानी प्रस्ताव आएको छ । उद्योग विभागको तथ्यांक अनुसार गत आवमा २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ बराबरकाे लगानी प्रस्ताव आएको हो ।

विभागका अनुसार २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा दर्ता भएका ४३४ उद्योगमा उक्त लगानीको प्रस्ताव आएको हो ।

गत आर्थिक वर्षमा दर्ता ३३३ वटा साना, ५२ वटा मझौला र ४९ वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ । ती उद्योग संचालनमा आएपछि २५ हजार ५५१ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

अघिल्लो आवको तुलनामा गत वर्ष उद्योगको संख्या बढे पनि लगानी प्रस्ताव रकम भने घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३२२ उद्योगमा २ खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको थियो । गत वर्ष अघिल्लो आवको तुलनामा १३ अर्ब रुपैयँँ लगानी प्रस्ताव घटेको हो ।

गत आवमा नेपालको उद्योग स्थापनाका लागि ६१.७८ अर्ब रुपैयाँको विदेशी लगानी प्रस्ताव आएको विभागले जनाएको छ । विदेशी लगानीको प्रस्ताव भएका परियोजनामा १९ हजार ५६५ रोजगारी सिर्जना हुने जनाइएको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष वैदेशिक लगानी ६०.७० प्रतिशतले बढेको हो । आव २०७९/८० मा ३८ अर्ब ४० करोड रुपैयाँको विदेशी लगानीको प्रस्ताव रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योग क्षेत्रमा २३ अर्ब ३८ करोड रुपैयाँ बढी लगानीको प्रस्ताव आएको विभागको तथ्यांकले देखाउँछ ।

गत वर्ष नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्ता उत्साहित बने पनि स्वदेशी उद्यमी भने निरुत्साहित देखिएको तथ्यांक्ले देखाएको छ । सरकारले वैदेशिक लगानी भित्र्याउन लगानी सम्मेलन समेत गरेको थियो ।

यस्तै, गत आवमा २ वटा प्याटेन्ट, ११ वटा डिजाइन र ६०५१ वटा ट्रेडमार्क दर्ता भएको विभागको तथ्यांक छ ।

सुकिलुम्बा विमानस्थलमा २ महिनादेखि हवाई उडान बन्द Read Previous

सुकिलुम्बा विमानस्थलमा २ महिनादेखि हवाई उडान बन्द

प्रमोटर सेयरको 'लकइन' अवधि परिमार्जन गरिँदै Read Next

प्रमोटर सेयरको 'लकइन' अवधि परिमार्जन गरिँदै