काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको सेयर मूल्यमा उछाल आएको छ । समग्रमा सेयर बजारले नै लय समाते पछि लघुवित्तको सेयर ‘हटकेट’ बन्दै गएको हो ।
पछिल्लो ७ महिनामै लघुवित्त उपसमूहको परिसूचक ७० प्रतिशतले बढेको छ । गत मंसिर २१ गते ३२५६ रहेको लघुवित्तको परिसूचक बिहीबार ५५७१ अंकको पुग्यो । यो पछिल्लो ३ वर्ष यताकै उच्च हो भने अब अल टाइम हाइको रेकर्ड ब्रेक नजिक पुगेको छ । ७ महिनामा मात्रै लघुवित्तको परिसूचक २३१५ अंकले बढेको छ ।
समग्र लघुवित्त समूहमै उछाल आउँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । यस अवधिमा लघुवित्त कम्पनीको सेयर मूल्य ४ गुणासम्मले बढेको छ ।
मंसिरमा मुस्किलले १ दर्जन लघुवित्तको सेयर मूल्य १ हजार रुपैयाँ माथि रहेको थियो । अहिले ठीक उल्टो १ दर्जनभन्दा कम लघुवित्तको सेयर मूल्य १ हजारभन्दा कम छ । हाल १० वटा लघुवित्तको मात्रै सेयर १ हजार रुपैयाँभन्दा कममा किन्न पाइन्छ । अहिले ३२ वटा लघुवित्तको सेयर मूल्य १ हजारदेखि २ हजार रुपैयाँ बीचमा छ भने ८ वटाको २ हजार माथि छ ।
नेप्सेमा हाल ५३ लघुवित्त सूचीकृत भए पनि मर्जरमा गएका कारण केहीको कारोबार रोक्का छ । जसमा समाज लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै २ हजार ९९० रुपैयाँ छ ।
यी हुन् १ हजारभन्दा कममा पाइने लघुवित्त
हाल नेप्सेमा सूचीकृत ५३ मध्ये ४८ लघुवित्तको सेयर कारोबरा भइरहेको छ । जसमा १० वटा लघुवित्तको मात्रै सेयर मूल्य १ हजारभन्दा कम छ ।
जसमा आरएसडीसी लघुवित्तको सेयर मूल्य सबैभन्दा सस्तो प्रतिकित्ता ८४५ रुपैयाँ छ । त्यस्तै, एनआइसी एशियाको प्रतिकित्ता मूल्य ८४६ रुपैयाँ, निर्धन उत्थान ८६० रुपैयाँ, एनएमबी ८६७ रुपैयाँ, नेरुडे ८७१ रुपैयाँ, फरस्ट माइक्रोफाइनान्स ८८० रुपैयाँ, स्वरोजगार ९३५ रुपैयाँ, मेरो माइक्रोफाइनान्स ९४८ ग्रामीण विकास ९४९ रुपैयाँ र साना किसानको ९८४ रुपैयाँ छ ।
किन बढ्दै छ लघुवित्तको सेयरमा आकर्षण ?
लघुवित्तहरूको सेयर मूल्य बढ्नुमा मुख्य ३ कारण देखिन्छन् । सेयर मूल्य निकै सस्तो हुनु, वित्तीय अवस्थमा सुधार आउनु र सेयर संख्या थोरै भएकाले चलखेल हुँदा छोटो समयमै लघुवित्तको सेयर मूल्यमा उछाल आएको हो ।
पछिल्लो समय लघुवित्तहरूको सेयर मूल्य ३ वर्ष यताकै सस्तो भएको थियो । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ र समग्र सेयर बजारमा आएको गिरावटका कारण लघुवित्तहरूको सेयर मूल्य निकै सस्तो भएको थियो । विगतमा ५ हजार माथिसम्म पुगेका लघुवित्तको सेयर १ हजार हाराहारीमा आएको थियो । आगामी दिनमा सेयर बजारले गति लिने अपेक्षा र मूल्य निकै सस्तो भएकाले लगानीकर्ताहरूले धमाधम लघुवित्तको सेयर किन्न थालेका हुन् । विगतमा महँगोमा सेयर किनेकाले सस्तोमा सेयर किनेर एभरेजिङ गर्न थालेका छन् । जसले मूल्य ह्वात्तै बढेको हो ।
पछिल्लो समय राष्ट्र बैंकले लघुवित्त संस्थाहरू माथि लगाएको अंकुश क्रमशः हटाउँदै लगेको छ । विगतमा बम्पर लाभांश दिँदै आएका लघुवित्तहरूले आगामी दिनमा पनि उच्च लाभांश दिनसक्ने भएकाले लगानीकर्ता सेयरमा आकर्षित हुन थालेका छन् ।
लघुवित्तको सेयर मूल्य बढ्नुको अर्को कारण हो वित्तीय अवस्थामा सुधार आउनु । गत वर्ष लघुवित्त विरुद्धको अराजक आन्दोलन र अर्थतन्त्रमा आएको मन्दीका लघुवित्त व्यवसाय चौपट बनेको थियो । आम्दानी गर्न नसक्दा २ दर्जन लघुवित्त घाटामा थिए भने ऋण असुली नहुँदा खराब कर्जा अचाक्ली बढेको थियो ।
तर, पछिल्लो त्रैमासमा अधिकांश लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको छ । राष्ट्र बैंकले दिएको कर्जा पुनर्तालिकीकरण÷पुनर्संरचनाको सुविधा र अर्थतन्त्रमा आएको सुधारका कारण कर्जा असुली रिकभरी हुन थालेको छ । खराब कर्जा घटेको छ भने बैंकको ब्याजदर पनि घट्दो क्रममा छ । जसकारण समग्र लघुवित्त व्यवसायमा सुधार देखिएको छ । व्यवसायमा सुधार आएसँगै आगामी दिनमा नाफा बढ्ने र लाभांश दिने आसमा लगानीकर्ता लघुवित्तको सेयरमा आकर्षित भएका हुन् ।
लघुवित्तको सेयर मूल्य बढ्नुको अर्को कारण हो सेयर संख्या कम हुनु । नेप्सेमा सूचीकृत १३ समूहका कम्पनी मध्ये लघुवित्त तुलनात्मक रुपमा सबैभन्दा कम चुक्ता पूँजी हुने कम्पनीमा पर्छन् । सेयर संख्या कम हुँदा आपूर्तिभन्दा माग धेरै हुँदा मूल्य बढेको हो । यद्यपि, केही लघुवित्तको सेयर मूल्य भने कर्नरिङ गरी उचालिएको पाइन्छ ।
गत आवको कात्तिकदेखि लगातार ब्याजदर घट्दो क्रममा छ । राष्ट्र बैंकले सेयर बजारमा लगाएको नीतिगत अंकुशहरू क्रमशः हटाउँदै लगेको छ । अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन् । जसकारण आगामी दिनमा बजारले अझै गति लिने आसमा लगानीकर्ताले सेयर किन्न थालेको देखिन्छ ।