डलरको भाउले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत बिहीबार मात्रै इतिहासकै महँगोको रेकर्ड बनाएको डलरको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३४.२७ रुपैयाँ पुगेको छ ।

यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि साउन १० गते १३४.२६ रुपैयाँ पुगेको थियो । यस्तै, आजका लागि १ अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकिएको छ ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

विश्वव्यापी रूपमा डलरको माग बढेसँगै लगातार यसको मूल्य आकाशिएको हो । डलर विश्वव्यापी रूपमा भुक्तानी गर्न प्रयोग हुने मुद्रा हो । त्यसैले एकाध बाहेक अधिकांश देशले डलरको संचिति बढाउन तर्फ ध्यान दिएका हुन्छन् । साथै, डलरमाथिको अन्तर्राष्ट्रिय विश्वनियताले पनि यसको माग बढ्दै गएको हो । माग बढेपछि डलरको भाउ बढ्ने गरेको छ ।

डलरमा लगानी गरे जतिबेला पनि काम लाग्छ भन्ने सोचाइ संसारभरका देशहरूमा हुन्छ ।डलरमा गरिएको लगानी तुलनात्मक रुपमा सुरक्षित मानिने चलन रहेकाले पनि यसप्रति लगानीकर्ताको आकर्षण देखिन्छ ।

नेपाललाई फाइदाभन्दा घाटा धेरै

अमेरिकी डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले नकारात्मक असर धेरै पर्ने अर्थविद्हरू बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ ।

त्यस्तै, डलरको भाउ बढ्ने बित्तिकै आयातित वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको दायित्व बढ्ने गर्छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।

डलरको भाउ बढ्दा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने सकारात्मक प्रभाव पर्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशतभन्दा कम रहेकाले डलको भाउ बढ्दा न्यून मात्र लाभ हुन्छ ।

पछिल्लो समय विप्रेषण आप्रवाह र पर्यटक आवगमन भने निरन्तर बढ्दो क्रममा रहेकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल आएका थिए भने सन् २०२४ मा पनि औसतमा मासिक झन्डै १ लाख हाराहारी पर्यटक आइरहेका छन् । नेपाल आउने पर्यटक बढेसँगै नेपालीमा विदेशी मुद्रा भित्रिने र यसले संचिति बढाउन सहयोग गर्छ ।

त्यस्तै, वैदेशिक रोजगरीमा गएका नेपालीहरूले विदेशी मुद्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरूले नेपाल पठाउने पैसामा पनि वृद्धि हुन्छ । जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।

पृथ्वी राजमार्गमा पर्ने घरटहरा  घरधनी आफैंले नभत्काए सरकारी सुविधा रोकिने Read Previous

पृथ्वी राजमार्गमा पर्ने घरटहरा घरधनी आफैंले नभत्काए सरकारी सुविधा रोकिने

हजार कममा पाइन छाड्यो लघुवित्तको सेयर, यी हुन सबैभन्दा सस्ता १० लघुवित्त Read Next

हजार कममा पाइन छाड्यो लघुवित्तको सेयर, यी हुन सबैभन्दा सस्ता १० लघुवित्त