अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । शुक्रबार बिहान ८ बजे बस्ने राष्ट्र बैंक संचालक समितिको बैठकबाट पारित गरेपछि सार्वजनिक गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले गत शुक्रबार (साउन ४ गते) नै मौद्रिक नीति सार्वजनिक गरेको थियो । तर, साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार नियुक्त भएका युवराज खतिवडाले मौद्रिक नीतिमा संशोधन गर्न चाहेपछि रोकिएको थियो ।

खतिवडाकै सुझाव अनुसार राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउने लचिलो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि कसिलो मौद्रिक नीति ल्याएर आलोचित हुँदै आएका गभर्नर महाप्रसाद अधिकारीले यसपाली सरकारकै चाहना अनुसार खुकुलो मौद्रिक नीति ल्याउन लागेको बताइएको छ ।

खतिवडा प्रधामन्त्री ओली सरकारले नै नियुक्त गरेका गभर्नर हुन् । अहिले सरकारमा एमालेकै अर्थमन्त्री समेत रहेकाले गर्भनरले यसअघि गरिएका कडाइ खुकुलो बनाउने भएका छन् ।

मौद्रिक नीतिमा निजी क्षेत्रका धेरै अपेक्षा भए पनि मुख्य समस्या समाधानमा सहयोग पुग्ने नीति ल्याउने तयारी छ । मुख्य गरी निर्माण क्षेत्र, घरजग्गा, सेयर बजारमा गरिएका कडाइ खुकुलो बनाइने राष्ट्र बैंक स्रोतले बताएको छ । त्यसैगरी, प्रणालीमा थुप्रेर बसेको तरलता लगानीका लागि सहजीकरण गरिने छ ।

अहिले बैंकिङ प्रणालीमा ७ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । नीतगत लचकता अपनाउँदै कर्जा विस्तारमा सहजीकरण गर्न लागेको छ । जसका लागि सेयर कर्जा, हायर पर्चेज कर्जा, घरजग्गा, ओभरड्राफ्ट लगायत कर्जाको जोखिमभार र सीमा पुनारावलोकन गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको प्रोभिजन सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकको तयारी छ ।

अहिले सेयर धितो कर्जामा व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमा तोकिएको छ । त्यस्तै, ५० लाख माथिको सेयर कर्जाको जोखिमभार १२५ प्रतिशत छ । यसमा कर्जाको सीमा बढाइने र जोखिमभार केही घटाउन सक्ने स्रोतले बतायो । त्यस्तै, लघुवित्त संस्थाहरुको लाभांश वितरणमा लगाइएको अंकुश केही खुकुलो बनाउने सम्भावना छ ।

त्यस्तै, हायर पर्चेज कर्जा अन्तर्गत कम्बस्चन गाडीको डाउन पेमेन्ट र ऋण भुक्तानी अनुपातमा पुनारावलोकन हुने जनाइएको छ । चालु पूँजी कर्जा मार्गदर्शनमा पनि केही संशोधन हुन सक्ने सम्भावना रहेको छ ।

पैसा फिर्ता गर्न नसकेपछि नेपाल सहकारी समस्याग्रस्त घोषणा Read Previous

पैसा फिर्ता गर्न नसकेपछि नेपाल सहकारी समस्याग्रस्त घोषणा

मौद्रिक नीति पारित, कति बेला गरिँदै छ सार्वजनिक ? Read Next

मौद्रिक नीति पारित, कति बेला गरिँदै छ सार्वजनिक ?