१० महिनामा पनि पाएनन् रुकुम पश्चिमका भूकम्प पीडितले पहिलो किस्ता

रुकुमपश्चिम । वि.सं. २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २ हजार २ लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैन् ।

भूकम्प गएको झण्डै १० महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् । पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन् ।

जिल्लामा ३२ हजार ९९६ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम पाएका छन् । बाँकी २ हजार २ लाभग्राहीका लागि रकम प्राधिकरणबाट उपलब्ध नभएकाले पहिलो किस्ताको रकम नपाएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार पहिलो किस्ताबापत रु २५ हजारका दरले ३२ हजार ९९६ लाभग्राहीले रु ८२ करोड ४९ लाख प्राप्त गरेका छन् ।

आठबिस नगरपालिकाका १० हजार ३९४, मुसिकोट नगरपालिकाका १ हजार ६६०, चौरजहारी नगरपालिकाका ७ हजार ५०२, सानीभेरी गाउँपालिकाका ६ हजार ७४, बाँफिकोट गाउँपालिकाका २ हजार ६४१ र त्रिवेणी गाउँपालिकाका ४ हजार ७२५ लाभग्राही रहेका छन् ।

जिल्ला विपत् व्यवस्थापनबाट हालसम्म १६ हजार लाभग्राहीका लागि दोस्रो किस्ता स्थानीय विपत् न्यूनीकरण कोषमा पठाए पनि ती सबै लाभग्राहीले दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्ताबापतको प्रति परिवार रु २५ हजारका दरले स्थानीय विपत् न्यूनीकरण कोषमा रु ४० करोड रकम जम्मा भएको प्रजिअ पन्तले बताए ।

दुई स्थानीय तह बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा अहिलेसम्म दोस्रो किस्ता बापतको कुनै पनि रकम प्राप्त हुन सकेको छैन् । यी दुई स्थानीय तहले दोस्रो किस्ता माग नगरेकाले दोस्रो किस्ता बापतको रकम पठाउन नसकिएको विपत् व्यवस्थापन समितिका संयोजक एवम प्रजिअ पन्तले जानकारी दिए । दोस्रो किस्ताका लागि स्थानीय तहबाट माग भएबमोजिम अपुग रकम प्राधिकरणमा माग गरिएको उनको भनाइ छ ।

सरकारले घर पुनःनिर्माणसम्बन्धी मापदण्ड नल्याउँदा प्रभावित क्षेत्रमा पुनःनिर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन् । कतिपय पीडित वर्खामा अस्थायी आवासमा बस्न समस्या हुने भन्दै आफै घर निर्माणमा जुटेका छन् । अस्थायी आवासमा बस्दा वर्खामा समस्या हुने भएपछि जसोतसो आफै पक्की घर निर्माण गरेर बसेको सानीभेरी गाउँपालिका–४ गोलचौरका शेरबबहादुर चन्दले बताए।

पहिलो किस्ता पाएको लामो समयसम्म पनि दोस्रो किस्ता पाउन नसकेको त्रिवेणी गाउँपालिका-२ का वीरबहादुर ओलीले गुनासो गरे । ‘पहिलो किस्ता पाएपछि जसोतसो गरेर अस्थायी आवास निर्माण गरियो, दोस्रो किस्ता अझै आएको छैन्, कहिलेसम्म आउँछ त्यो पनि जानकारी छैन् ।’ दोस्तो किस्ताको रकम आएमा अस्थायी आवासलाई थप व्यवस्थित गर्न सजिलो हुने उनको भनाइ छ ।

त्रिवेणी गाउँपालिको भने पहिलो किस्ता प्राप्त गरेका लाभग्राही सङ्ख्या बराबर रकम नआउँदा दोस्रो किस्ताको रकम कसरी वितरण गर्ने भन्ने समस्या भएको जनाएको छ । पालिकामा ४ हजार ७२५ लाभग्राही रहेकामा जिल्ला विपत् व्यवस्थापन समितिबाट दोस्रो किस्ताका लागि ४ हजार ३०० लाभग्राहीको लागि मात्रै रकम प्राप्त हुँदा समस्या भएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गनेशकुमार केसीले जानकारी दिए ।रासस

७ नाकाबाट भित्रिन्छ ९० प्रतिशत विदेशी वस्तु, १० भन्सारबाट निर्यात शून्य Read Previous

७ नाकाबाट भित्रिन्छ ९० प्रतिशत विदेशी वस्तु, १० भन्सारबाट निर्यात शून्य

लीलादेवी गडतौला बनिन् पहिलो महिला मुख्यसचिव Read Next

लीलादेवी गडतौला बनिन् पहिलो महिला मुख्यसचिव