७ नाकाबाट भित्रिन्छ ९० प्रतिशत विदेशी वस्तु, १० भन्सारबाट निर्यात शून्य

काठमाडौं । नेपालका ३० वटा भन्सार कार्यालयबाट वैदेशिक व्यापार हुने भए पनि ९० प्रतिशतभन्दा बढी सामान ७ वटा भन्सारबाट मात्रै भित्रिने गरेकाे ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १५ खर्ब ९२ अर्बको वस्तु आयात भएको छ । सोमध्ये वीरगञ्ज, भैरहवा, ड्राइपोर्ट, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज र रसुवागढी भन्सारबाट मात्रै १४ खर्ब ३७ अर्बको सामान भित्रिएको हो । यो कुल आयातको ९०.२७ प्रतिशत हो ।

सर्वाधिक सामान भित्रिने ७ नाकामध्ये ५ वटा भारतसँग सीमा जोडिएका छन् भने एउटा चीनसँग । एउटा भने विमानस्थल रहेको छ ।

भारतीय बन्दरगाहबाट नजिक र सहज सडक पूर्वाधारका कारण यी नाकाबाट धेरै वैदेशिक व्यापार हुने गरेको हो । त्यस्तै, तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलबाट मात्रै नियमित उडान हुने भएकाले व्यापार पनि यहीबाँटै धेरै हुने गरेको हो ।

पछिल्लो समय चीनसँग सीमा जोडिएको रसुवागढी भन्सारबाट पनि आयात बढ्दो छ । यस नाकाबाट मुख्यगरी विद्युतीय सवारीसाधन आयात बढ्दो छ ।

वीरगञ्ज नाकाबाट सबैभन्दा धेरै व्यापार हुने गरेको विभागको तथ्यांक छ । यस नाकाबाट कुल आयातमा एकतिहाई अर्थात् ३४.३० प्रतिशत हिस्सा रहेको छ । गत वर्ष यस नाकाबाट ५ खर्ब ४६ अर्बको आयात भएको छ ।

त्यस्तै, भैरहवाबाट कुल आयातको १५.२३ प्रतिशत, सुख्खा बन्दरगाहबाट १२.७८ प्रतिशत, विराटनगरबाट १०.५७ प्रतिशत, त्रिभुवन विमानस्थलबाट ९.१२ प्रतिशत, नेपालगञ्जबाट ४.४१ प्रतिशत र रसुवागढीबाट ३.८२ प्रतिशत आयात भएको विभागको तथ्यांक छ । अन्य २३ भन्सार नाकाबाट कुल आयातको ९.७७ प्रतिशत मात्र आयात भएको विभागले जनाएको छ । त्रिवेनी नाकाबाट सबैभन्दा कम ४ लाख ८२ हजार रुपैयाँको सामान आयात भएको छ ।

१० भन्सारबाट निर्यात शून्य

गत आवमा सबै भन्सार नाकाबाट सामान आयात भए पनि निर्यात भने हुन सकेन । ३० भन्सार मध्ये २० वटाबाट मात्रै सामान निर्यात भएको छ । १० भन्सारबाट निर्यात शून्य रहेको छ ।

विभागका अनुसार सुनसरी, जनकपुर, चोभार, भद्रपुर, महेशपुर, पोखरा विमानस्थल, राजविराज, ठाढी, गौतमबुद्ध विमानस्थल र त्रिवेणी नाकाबाट एक रुपैयाँको पनि सामान निर्यात भएको छैन ।

सरकारी बेवास्ता, आवश्यक पूर्वाधारको अभाव र छिमेकी देशको असहयोगका कारण यी भन्सारबाट निर्यात हुन नसकेको हो । ३० वटै भन्सारबाट वस्तु आयात हुने भए पनि केही नाकामा निर्यातका लागि आवश्यक व्यवस्था मिलाइएको छैन ।

त्रिभुवन विमानस्थलबाट झण्डै एकचौथाई निर्यात

गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट सबैभन्दा धेरै वस्तु निर्यात भएको छ । कुल १ खर्ब ५२ अर्ब रुपैयाँको सामान विदेशिँदा विमानस्थलबाट मात्रै ३४ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ । यो कुल निर्यातको २२.५४ प्रतिशत हो । यस नाकाबाट गलैँचा, कार्पेट, छुर्पी लगायत वस्तु धेरै बाहिरिएको छ ।

दोस्रोमा विराटनगर भन्सारबाट ३१ अर्ब १४ करोडको सामान बाहिरिएको छ । यो कुल निर्यातको २०.४४ प्रतिशत हो । यस नाकाबाट अलैँची, चिया, अम्रिसो, अदुवा, प्लाइवुड लगायत वस्तु विदेशिएको छ ।

त्यस्तै, तेस्रोेमा वीरगञ्ज भन्सारबाट २०.४३ प्रतिशत वस्तु बाहिरिएको छ । यस नाकाबाट सिमेन्ट तथा क्लिंकर, फलामे पाता लगातयत वस्तु धेरै निर्यात भएको छ ।

नेपालले भद्रपुर, भैरहवा, विराटनगर, वीरगञ्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, त्रिवेणी, टाँडी, त्रिभुवन, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

१० महिनामा पनि पाएनन् रुकुम पश्चिमका भूकम्प पीडितले पहिलो किस्ता Read Next

१० महिनामा पनि पाएनन् रुकुम पश्चिमका भूकम्प पीडितले पहिलो किस्ता