नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । साउन १ गतेदेखि दैनिक उच्च अंकले बढ्दै आएको नेप्सले आज पनि ७५ अंकले बढेको हो । पछिल्ला ६ कारोबार दिनमै नेप्से ३२२ अंकले बढिसकेको छ ।

मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ बिन्दुमा पुगेको छ । यो पछिल्लो २९ महिना यताकै उच्च बिन्दु हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज १४ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूह सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन र निर्जीवन बीमा समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २४ करोड ६४ लाख रुपैयाँ बढीको ४ लाख २३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावरको पनि २४ करोड बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा आएका २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको मात्रै मूल्य घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र नेपाल वेयर हाउजिङको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, साहस ऊर्जा, हिमालयन ऊर्जा र ग्लोबल आइएमई ब्यालेन्स फण्डका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

भारतले नेपाललाई सवा ११ अर्ब अनुदान दिने, छिमेकीमा सबैभन्दा धेरै भुटानलाई Read Previous

भारतले नेपाललाई सवा ११ अर्ब अनुदान दिने, छिमेकीमा सबैभन्दा धेरै भुटानलाई

ओटीसी मार्केटमा ७६ कम्पनीकाे सेयर किनबेच, वर्ल्डलिंकको भाउ प्रतिकित्ता ९३७५ रुपैयाँ (सूचीसहित) Read Next

ओटीसी मार्केटमा ७६ कम्पनीकाे सेयर किनबेच, वर्ल्डलिंकको भाउ प्रतिकित्ता ९३७५ रुपैयाँ (सूचीसहित)