ओटीसी मार्केटमा ७६ कम्पनीकाे सेयर किनबेच, वर्ल्डलिंकको भाउ प्रतिकित्ता ९३७५ रुपैयाँ (सूचीसहित)

काठमाडौं । ओभर दी काउन्टर (ओटीसी) मार्केटबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७६ कम्पनीको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत वर्ष ७६ कम्पनीको कुल ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त मूल्यमा कुल ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर किनबेच भएको हो ।

गत वर्ष ओटीसी मार्केटमा विभिन्न मेडिकल कलेज तथा अस्पताल, क्यापिट, केबलकार, होटल, हाइड्रोपावर, सिमेन्ट उद्योग, डिस्ट्रीलरी उद्योग, ग्यास उद्योग, दूरसंचार सेवा प्रदायक लगायत कम्पनीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

ओटीसी मार्केटमा नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा हुन नसकेका पब्लिक कम्पनीहरूको सेयरको कारोबार हुन्छ ।

२०६४ देखि नेप्सेले सञ्चालनमा ल्याएको ओटीसी मार्केटमा हालसम्म २४४ कम्पनी दर्ता भई कारोबार भएको नेप्सेले जनाएको छ ।

सबैभन्दा महँगो सेयर भाउ वर्ल्डलिंकको

गत वर्ष ओटी मार्केटमा कारोबार भएका ७८ कम्पनी मध्ये आधा बढी कम्पनीको सेयर कारोबार अंकित मूल्यमै भएको छ । अर्थात् प्रतिकित्ता १०० रुपैयाँ दरमा भएको छ । बाँकी कम्पनीको सेयर कारोबार प्रतिकित्ता १०० रुपैयाँ माथिको मूल्यमा भएको छ ।

जसमा इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेसनको सेयर सबैभन्दा महँगो मूल्यमा कारोबार आएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँको दरले कारोबार भएको छ । यसको कुल १३ हजार ३९२ कित्ता सेयर कारोबार भएको हो ।

त्यसैगरी, काठमाडौं फरेष्ट्री कलेजको सेयर प्रतिकित्ता १ हजार ८५.५ रुपैयाँदरले ५०० कित्ता सेयर किनबेच भएको छ ।

काठमाडौं मेडिकल कलेजको प्रतिकित्ता ३०० रुपैयाँसम्म सेयर कारोबार भएको छ । त्यसैगरी एनआइसी एशिया क्यापिटल प्रतिकित्ता ५५० रुपैयाँ, लर्ड बुद्ध एजुकेशन एकेडेमी प्रतिकित्ता ५४० रुपैयाँ, मौलाकालिका केबलकार प्रतिकित्ता ३०० रुपैयाँ, अन्नपूर्ण केबलकार १५० रुपैयाँ, बन्दीपुर केबलकार प्रतिकित्ता १४० रुपैयाँ, लिटमस इन्डस्ट्रीको प्रतिकित्ता २६९ रुपैयाँमा सेयर किनबेच भएको छ ।

त्यस्तै, आइएमई डिजिटल सोलुसनको प्रतिकित्ता १३६.३६ रुपैयाँ, लक्ष्मी स्टील्स २०० रुपैयाँ, मेडिकेयर हस्पिटल १५८.२ रुपैयाँ, सेन सिड सर्भिस २४५ रुपैयाँ, अल्फा क्यापिटल १५० रुपैयाँ, मेरोजब १३० रुपैयाँ, पाल्पा सिमेन्टको प्रतिकित्ता २३२ रुपैयाँमा सेयर किनबेच भएको छ ।

 

नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ५९ काम सम्पन्न Read Next

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ५९ काम सम्पन्न