काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालललाई ७ अर्ब भारु (११ अर्ब २० करोड नेपाली रुपैयाँ) अनुदान दिने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सीतारमणले नेपालका लागि उक्त रकम विनियोजन गरेकी हुन् ।
गत आवको तुलनामा भारतले नेपाललाई ५० करोड भारु अनुदान बढाएको हो । भारतले वित्त वर्ष २०२३/२४ मा नेपाललाई ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।
भारतले छिमेकी मुलुकमध्ये सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २० अर्ब ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, भारतको आगामी बजेटमा मालदिभ्सलाई ४ अर्ब भारु, म्यानमारलाई २ अर्ब ५० करोड, श्रीलंकालाई २ अर्ब ४५ करोड, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई १ अर्ब २० करोड अनुदान छुट्याएको छ ।
त्यस्तै, अफ्रिकी मुलुकहरूलाई २ अर्ब र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।