असारमा मात्रै थपियो साढे २ खर्ब निक्षेप, बैंकले दुई दिनमै दिए २० अर्ब ऋण

काठमाडौं । असारमा बैंकिङ प्रणालीमा निक्षेपको ओइरो लागेको छ । सरकारले असारे विकासको नाममा पूँजीगत खर्च बढाउँदा बैंकिङ प्रणालीमा साढे २ खर्ब रुपैयाँ बढी निक्षेप थपिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार महिनामा मात्रै २ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६२ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा असार मसान्त आइपुग्दा बढेर ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो । असारमा औसतमा दैनिक ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकारभन्दा पनि ठूलो भएको छ । बैंकमा रहेको कुल निक्षेप जीडीपीको १२०.६६ प्रतिशत हो । पछिल्लो तथ्यांक अनुसार मुलुकको जीडीपी ५३ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ।

गत आवको सुरुदेखि नै बैंकिङ प्रणालीमा एकोहोरो निक्षेप थुप्रिरहेको छ । रेमिटेन्समा आप्रवाहमा उल्लेख्य वृद्धि, आयात घट्नु, सरकारले पूँजीगत खर्च बढाउनु लगायत कारणले निक्षेप बढेको हो । गत आवमा मात्रै बैंकिङ प्रणालीमा ७ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप निक्षेप थपिएको छ ।

बैंकिङ प्रणालीमा वर्षको सुरुदेखि नै एकोहोरो निक्षेप थपिरहे पनि कर्जा लगानी भने सुस्त रहेको छ । अर्थतन्त्रमा आएको संकुचन र व्यवसायीको मनोवल खस्किँदा कर्जाको माग बढ्न नसकेको हो ।

गत आवमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपको आधार रकम पनि कर्जा लगानी गर्न सकेनन् । गत वर्ष भरीमा कुल २ खर्ब ९२ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

अघिल्लो असार मसान्तमा कुल कर्जा लगानी ४८ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा २०८१ असार मसान्त आइपुग्दा बढेर ५१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले गत आवमा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत अर्थात् ५ खर्ब ६० अर्ब बढी कर्जा विस्तारको लक्ष्य राखेको थियो । तर, लक्ष्यको आधा मात्रै अर्थात् कर्जा लगानी ५.९८ प्रतिशतले मात्र बढेको छ ।

वर्षभरी कर्जा लगानी सुस्त रहे पनि असार मसान्तको अन्तिम दुई दिन भने बैंकहरूले आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् । असार ३० गते ११ अर्ब र ३१ गते ९ अर्ब गरी दुई दिनमै २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

यद्यपि, बैंकहरूले उक्त रकम नयाँ कर्जा लगानी नगरी पुरानै ऋणको साँवा ब्याज तिर्न (एभरग्रिनिङ गर्न) दिएको पाइएको छ । प्रायः असार मसान्तमा नयाँ ऋणको माग हुँदैन । तर, बैंकहरूले आफ्नो विगतमा गरेको ऋण लगानी खराब कर्जामा परिणत हुनबाट जोगाउन ऋण तिर्न ऋण नै दिएका हुन् ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । जसकारण बैंकहरूको खराब कर्जा ह्वात्तै बढ्न गई ब्यालेन्स सिट खस्किरहेको छ । यस्तोमा ऋण तिर्न ऋणै दिएर भए पनि ब्यालेन्ससिटमा सुधार ल्याउन बैंकहरूले अन्तिम दुई दिनमै २० अर्ब ऋण लगानी गरेको देखिन्छ ।

आर्थिक मन्दीका कारण गत वर्षदेखि नै बैंकिङ व्यवसाय प्रभावित भएको छ । एकोहोरो रुपमा निक्षेप थपिए पनि अपेक्षित रुपमा कर्जा लगानी हुन सकेको छैन । त्यस्तै, नियमित कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको छ । जेठसम्म बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औसतमा ३.९८ प्रतिशत पुगेको छ ।

कर्जाको माग बढाउन सरकार र नेपाल राष्ट्र बैंकले एकपछि अर्को लचकता अपनाए पनि प्रभावकारी हुन सकेको छैन । जसकारण पैसा बैंकमै थुप्रिएर बसेको छ । अहिले बैंकिङ प्रणालीमा ७ खर्ब रुपैयाँ हाराहारी तरलता (लगानी योग्य रकम) थुप्रिएको छ ।

कर्जा लगानी बढ्न नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । हाल समग्रमा सीडी रेसियो ७७.६७ प्रतिशत रहेको छ । राष्ट्र बैंकले सीडी रेसियोको सीमा ९० प्रतिशत तोकेको छ ।

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात Read Previous

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात

फुटपाथ विस्तारको विरोधमा उत्रिए न्यूरोडका स्थानीय Read Next

फुटपाथ विस्तारको विरोधमा उत्रिए न्यूरोडका स्थानीय