काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फेरि फुटपाथ विस्तारको काम थालेपछि स्थानीय विरोधमा उत्रिएका छन् ।
उच्च अदालत पाटनले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरले बुधबारदेखि पुनः काम सुरू गरेको थियो । महानगरको उक्त कामको विरोध गर्दै शुक्रबार स्थानीय सडकमा उत्रिएका हुन् ।
स्थानीयले आन्दोलनमा उत्रिएपछि न्यूरोड क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी र नगरप्रहरी तैनाथ गरिएको छ ।
सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माणकर्ता छनोट गरी जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । डिभिजनको हस्तक्षेप विरुद्ध महानगरपालिकाले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले असार ३० गते फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएसँगै फेरि काम अघि बढाएको हो ।