७५ प्रतिशत अण्डा उत्पादक किसान विस्थापित

चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । ५ वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् ।

बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार २ वर्ष अघिसम्म नेपालमा ५ हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या २ हजारभन्दा तल छ । उनले भने, ‘जसको कुखुरा बाँकी छ, उनीहरूले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।’

अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उनको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उनी बताउँछन् । केही महिनाअघि विज्ञहरूले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य १६ रुपैयाँ रहेको छ ।

गत महिनाबाट अण्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ हाराहारी आएपछि लागत मूल्य नजिक आएको भट्ट बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल धेरै अण्डा उत्पादक किसानले बैङ्कको ऋण र ब्याज तिर्न नसकेको बताउँछन् ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कँडेलको भनाइमा २ लाख ८२ हजार उद्योगी बैङ्कको कालो सूचीमा छन् । तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवं पोल्ट्री व्यवसायी रहेको उनको भनाइ छ ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायत कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउँछन् । अघिल्ला वर्षहरूमा बैङ्कको ब्याज बढी हुँदा खर्च धान्न कठिन भएको उनको भनाइ छ ।

दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उनी बताउँछन् । नेपालमा अहिले अण्डा उत्पादक किसानमध्ये १ लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान एवं फार्मको सङ्ख्या १५ रहेको छ ।

ठूला फार्म बढेका कारण धेरै किसान विस्थापित भएर पनि माग धान्न सकेको हो । किसान पलायन हुन थालेपछि विसं २०७९ असोज २९ गते लेयर्स कुखुरापालक किसानले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेका थिए । सो संस्थाले देशव्यापी रुपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसानसमेत आउन थालेका हुन् ।

सङ्घका अध्यक्ष विनोद पोखरेलले कुखुरा पालिरहेकाहरू पनि अधिकांशको ठूलो मात्रामा बैङ्क ऋण रहेको बताए । उनको भनाइमा धितो राखेर ऋण लिएकाहरूले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उनको भनाइ छ ।

सङ्घ गठन हुँदै गर्दा किसानले अण्डाको मूल्य प्रतिगोटा रु आठभन्दा तल पाएका थिए । त्यतिबेलाको नोक्सान धान्न मुस्किल भएको उनको भनाइ छ । अहिले ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुँदै आएको उनले जानकारी दिए । धेरै कुखुरा हुँदा ६० लाख नाघेका थिए । कुखुरा पाल्दै आएका किसान विस्थापित भएपछि धेरै खोर खाली छन् ।रासस

रसुवाले उठायो २० अर्ब ३६ करोड राजस्व Read Previous

रसुवाले उठायो २० अर्ब ३६ करोड राजस्व

निजी क्षेत्र गुनासो लिएर सिंहदरबार नआउने वातावरण सिर्जना गर्छु : मन्त्री भण्डारी Read Next

निजी क्षेत्र गुनासो लिएर सिंहदरबार नआउने वातावरण सिर्जना गर्छु : मन्त्री भण्डारी