काठमाडौं । सेयर लगानीकर्ता सेयर खरिदमा आक्रमक बनेका छन् । अर्थतन्त्रका सूचकसँगै देशको राजनीति समेत अनुकुल हुँदै गएपछि लगानीकर्ताले आक्रमक रुपमा सेयर किन्न थालेका हुन् ।
बुधबार नेप्से खुलेको डेढ घण्टामै ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । दिउँसो साढे १२ बजेसम्म ५ अर्ब बढीको १ करोड ४२ लाख कित्ता बढी सेयर खरिदबिक्री भएको छ । यस अवधिमा प्रतिमिनेट औसतमा साढे ५ करोडको सेयर किनबेच भइरहेको छ ।
कारोबारसँगै सूचकमा पनि उछाल आएको छ । नेप्से २६ अंकले बढेर २३३६ बिन्दुमा पुगेको छ ।
गत असार १७ गते संसदमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेका थिए । नयाँ सरकारकाे अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएसँगै लगानीकर्ता हाैसिएर धमाधम सेयर किन्न थालेका हुन् ।
मंगलबार एकैदिन नेप्सेले ७० अंकको छलाङ हानेको थियो भने ९ करोड बढीको सेयर कारोबार भएको थियो । पौडेल सेयर बजारमैत्री अर्थमन्त्रीमा रुपमा चिनिन्छन् । यसअघि दुईपटक नेप्सेले अल टाइम हाइको रेकर्ड बनाउँदा पौडल नै अर्थमन्त्री थिए । पौडेलको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग ट्युनिङ मिल्ने भएकाले चालु आवको मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाइएको सीमा हटाउने हल्ला चलेको छ ।
कात्तिकदेखि बैंकहरूले लगातार ब्याजदर घटाइरहेका छन् । अहिले बैंकको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । एकल अंकमै कर्जा पाउने अवस्था छ । त्यस्तै, बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ ।
सुधारोन्मुख अर्थतन्त्रका सूचक, खुकुलो मौद्रिक नीति आउने अनुमान र राजनीतिक स्थिरता छाउने आशामा लगानीकर्ता धमाधम सेयर किन्न थालेका छन् ।