काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको छ ।
निगमले दुई न्यारोवडी र दुई वाडबडी जहाज खरिदका लागि लिएको ऋणमध्ये असारको किस्ता बापत उक्त रकम तिरेको हो ।
‘निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी मिति २०८१ आषाढ ३१ गते जम्मा रु ४३,०९,५५,२८१ (अक्षरेपी त्रिचालिस करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको छ,’ निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
वर्तमान नेतृत्वले निगम व्यवस्थापन सम्हालेपछि असारसम्म ५ अर्ब ७९ करोड ४२ हजार २४९ रुपैयाँ किस्ता तिरेको निगमले जनाएको छ ।
कोरोना भाइरसका कारण निगमको व्यापारमा प्रतिकुल असर परेकाले सो अवधिको ब्याज, हर्जना र पेनल छुट गर्न दुवै ऋण दातालाई निगमले आग्रह गरेको छ । सो बारेमा छलफल भइरहेको निगमले जनाएको छ ।