काठमाडौं । डिम्याट खाता नवीकरण नगर्नेले आजदेखि सेयर ट्रान्सफर गर्न नपाउने भएका छन् । आजदेखि नयाँ आर्थिक वर्ष सुरू भएकाले डिम्याट खाता नवीकरण नगर्नेको सेयर फ्रीज हुने भएको हो ।
हरेक नयाँ आर्थिक वर्ष लागेसँगै डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । सो अनुसार असार मसान्तसम्म डिम्याट खाता नवीकरण नगर्नेको आजदेखि सेयर कारोबार गर्न नमिल्ने भएको हो ।
नवीकरण नभएको डिम्याट खातामा सेयर क्रेडिट हुने भए पनि डेबिट गर्न मिल्दैन । अर्थात् खातामा सेयर आउने भए पनि खातामा भएको सेयर बिक्री गरी ट्रान्सफर (ईडीआएस) गर्न मिल्दैन । जसकार टीएमएस मार्फत सेयर बिक्री भए पनि डिम्याटबाट सेटलमेन्ट गर्न मिल्दैन ।
मेरोसेयर सेवा लिएको १ वर्ष पुगेको मितिमा मात्रै नवीकरण गर्नुपर्ने भए पनि डिम्याट भने हरेक आर्थिक वर्षको अन्त्यमा नवीकरण गरिसक्नुपर्छ । डिम्याट खाता नवीकरण गर्न वार्षिक १०० रुपैयाँ लाग्छ ।
डिम्याट खाता होल्डरले आफूले खाता खोलेको बैंक, ब्रोकर, मर्चेन्ट बैंक वा क्यापिटलमा गएर आफ्नो खाता नवीकरण गर्न सक्छन् । साथै, विभिन्न वालेट, कनेक्ट आइपीएस लगायत अनलाइनबाटै नवीकरण गर्न सक्नेछन्
सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांक अनुसार हालसम्म डिम्याट खाताको संख्या ६३ लाख १२ हजार नाघेको छ ।