काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सेयर बजारमा सामान्य वृद्धि भएको छ । अधिक तरलता, घट्दो ब्याजदर, नीतिगत लचकता भए पनि गत आवमा नेप्सेले गति लिन नसकेको हो ।
गत आवमा नेप्से नेप्से सूचक ६.८३ प्रतिशतले बढेको छ । २०८० असार ३१ गते २०९७.०९ विन्दुमा रहेको नेप्से २०८१ असार मसान्त आइपुग्दा १४३.३२ अंकले बढेर २२४०.४१ विन्दुमा पुगेको छ ।
२०७८ भदौ २ गते इतिहासकै सर्वाधिक ३१९८ बिन्दुको रेकर्ड बनाएको नेप्से त्यसयता वियरिस ट्रेन्डमा छ । अघिल्ला दुई वर्षमा झण्डै १४०० अंकले घटेको नेप्से गत आवमा भने झिनो वृद्धि भएको हो ।
गत वर्ष नेप्से बढ्दा समग्रमा सेयर लगानीकर्ताको सम्पत्ति ४ खर्ब ७१ करोड रुपैयाँले बढेको छ । २०८० असार ३१ गते नेप्सेको कुल बजार पूँजीकरण ३० खर्ब ८२ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा २०८१ असार ३१ गते आइपुग्दा बढेर ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यद्यपि, यस अवधिमा आधादर्जन बढी नयाँ कम्पनी थपिएका छन् ।
नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लिएको एकपछि अर्को नीतिगत लचकता, अर्थतन्त्रमा आएको क्रमिक सुधार, घट्दो ब्याजदर, अधिक तरलताका कारण सेयर बजारमा झिनो वृद्धि देखिएको हो । साथै वर्षको अन्त्यतिर भएको सत्ता परिवर्तनका कारण पनि नेप्सेमा वृद्धि देखिएको हो ।
राष्ट्र बैंकले चालु गत आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा ४/१२ करोडको सीमा बढाएर व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था थियो ।
त्यस्तै, २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ पुर्याएको थियो भने ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।
गत वर्ष बैंकहरूले कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । जसकारण बैंकहरूको लागत घट्न गई बेसरेट ८ प्रतिशत हाराहारीमा आइसकेको छ । त्यस्तै, गत वर्षभरी नै बैंकिङ प्रणालीमा अधिक तरलता कायम भयो । सहजै ऋण पाउने अवस्था थियो । जसकारण लगानीकर्ताले जेठसम्म मात्रै पौने ११ अर्ब सेयर कर्जा लिएका थिए ।
त्यस्तै, असार १७ गते काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको थियो । सेयर बजारमैत्री भनेर चिनिने विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै दुई सातामै नेप्से २०० बढी अंकले बढेको थियो ।
सर्वाधिक बढ्यो फाइनान्स समूह, घट्यो बीमा र बैंक
गत वर्षमा नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ९ को परिसूचक बढ्यो भने ४ को घट्यो । जसमा फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ३५.२६ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको अन्त्यमा १९२५.३२ बिन्दुमा रहेको फाइनान्स समूहको परिसूचक २०८१ असार ३१ गते २६०४.१६ बिन्दुमा पुगेको छ । एक वर्षमा फाइनान्स समूहको परिसूचक ६७८.८४ अंकले बढेको छ । गत वर्ष केही फाइनान्सको सेयर मूल्य अल टाइम हाइ पुग्यो भने आधा दर्जन कम्पनीको दोब्बरले बढ्यो ।
त्यसैगरी, गत वर्ष म्युचुअल फण्डको परिसूचक ३४.७९ प्रतिशत (५.२७ अंक), उत्पादनमूलक समूहको १९.३४ प्रतिशत (१०९०.१९ अंक), लघुवित्तको १८.९९ प्रतिशत (७६८.८४ अंक) र हाइड्रोपावरको १७.५९ प्रतिशत (४१६.४४) अंकले बढेको छ ।
त्यसैगरी, व्यापार समूहको परिसूचक १५.५७ प्रतिशत (४१०.८५ अंक), लगानी समूहको १४.४३ प्रतिशत (१०.५४ अंक), विकास बैंकको १३.८३ प्रतिशत (५३८.३४) अंक र अन्य समूहको परिसूचक ९.३७ प्रतिशत (१४५.१५ अंक)ले बढेको छ ।
गत वर्ष जीवन बीमा समूहको परिसूचक सर्वाधिक १०.२० प्रतिशत (१२२३.५५ अंकले घटेको छ । त्यस्तै, होटल समूहको परिसूचक ४.१० (२३७.८१ अंक), बैंकिङको १.१० प्रतिशत (१३.५६ अंक) र निर्जीवन बीमाको ०.९६ प्रतिशत (१०७.८८ अंक)ले घटेको छ ।
गत वर्ष केही वाणिज्य बैंक र बीमा कम्पनीहरूको सेयर मूल्य इतिहासकै सस्तो मूल्यमा झरेको थिए ।