काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्त सम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।
सोमबार कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडलेले आफ्नो पहिलो निर्णयमा उक्त कार्यविधि स्वीकृत गरेका हुन् । यो कार्यविधि स्वीकृत भएसँगै ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्तिमा सहज हुनेछ ।
संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उनले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।
‘अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्ने छौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु ।’
उनले सेयर बजार अर्थतन्त्रको एनाको रुपमा रहेको बताए । ‘सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने चाहना छ,’ उनले भने ।
उनले सरकारले पूरक बजेट नल्याउने बताए । नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताए ।
उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राखे । ‘सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौं,’ अर्थमन्त्री पौडेलले भने ।