काठमाडौं । चालु आर्थिक वर्षमा कर्जा लगानी सुस्त रहेको छ । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फ समग्रमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार ५ खर्ब ६० खर्ब बढी रुपैयाँ कर्जा लगानी गनुपर्छ । तर, चालु आवको ११ महिना बित्दा २ खर्ब ४५ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएको छ । यो वृद्धिदर ५.२ प्रतिशत मात्रै हो ।
अर्थतन्त्रमा आएको शिथिलता र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न नसकेको हो । बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा मुख्यगरी उत्पादनमूलक र व्यापार प्रयोजनका लागि प्रदान हुने कर्जा लगानीमा भारी गिरावट आएको छ ।
सरकार र राष्ट्र बैंकले कर्जाको माग बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाए पनि कर्जाको माग बढ्न सकेको छैन । आर्थिक शिथिलताका बाबजूद ४ प्रकारको कर्जाको वृद्धिदर लक्ष्यभन्दा धेरै रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने १२ प्रकृतिका कर्जामध्ये जेठसम्म ४ प्रकृतिका कर्जाको वृद्धिदर लक्ष्य अर्थात् ११.५ प्रतिशतभन्दा धेरै छ । चालु आवमा बिल पर्चेज, ट्रम लोन, क्यास क्रेडिट र मार्जिन कर्जाको वृद्धिदर ११.५ प्रतिशतभन्दा धेरै छ ।
चालु आवमा बिल पर्चेज लोनको वृद्धिदर सबैभन्दा धेरै ५७.४ प्रतिशतले बढेको छ । गत असारसम्म ४ अर्ब २७ करोड बिल पर्चेज लोन लगानी भएकोमा जेठसम्म आइपुग्दा २ अर्ब ४५ करोडले बढेर ६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
रकमका आधारमा भने चालु आवमा ट्रम लोन सबैभन्दा धेरै बढेको छ । ११ महिनामा यस्तो प्रकृतिको कर्जा लगानी ३ खर्ब ९ अर्ब रुपैयाँ (१९.६ प्रतिशत)ले बढेर १८ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ ।
त्यसैगरी, क्यास क्रेडिट लोन २३.६ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब रुपैयाँले बढेको छ । असारसम्म ५ खर्ब १६ अर्ब क्यास क्रेडिट लोन लगानी भएकोमा जेठ आइपुग्दा बढेर ६ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ ।
त्यसैगरी, चालु आवमा मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा लगानी १४.२ प्रतिशतले बढेको छ । चालु आवको ११ महिनामा सेयर कर्जा १० अर्ब ८० करोड रुपैयाँले बढेर ८७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्ला दुई वर्ष ऋणात्मक रहेको मार्जिन कर्जा यस वर्ष राष्ट्र बैंकको नीतिगत लचकतासँगै ह्वात्तै बढेको हो ।
त्यस्तै, चालु आवमा व्यक्तिगत आवसीय कर्जा (२ करोडसम्म)पनि झण्डै लक्ष्य नजिक पुगेको छ । जेठसम्म व्यक्तिगत घरकर्जा १०.७ प्रतिशत (३७ अर्ब २९ करोड रुपैयाँ)ले बढेको छ । असारसम्म ३ खर्ब ४८ अर्ब रुपैयाँ घर कर्जा लगानी भएकोमा जेठसम्म बढेर ३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, व्यापारिक प्रयोजनका लागि प्रवाह हुने ट्रस्ट रिसिप्ट/आयात कर्जा ७.२ प्रतिशत (५ अर्ब ३१ करोड), रियल ईस्टेट कर्जा ४.३ प्रतिशत, अन्य कर्जा २.१ र डिस्प्राइड सेक्टर (विपन्न वर्ग)मा प्रवाह हुने कर्जा ०.७ प्रतिशतले बढेको छ ।
३ प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक
चालु वर्षमा ३ प्रकारका कर्जाको वृद्धिदर ऋणात्मक छ । जेठ मसान्तसम्म ओभर ड्राफ्ट कर्जा, चालु पूँजी कर्जा र हायर पर्चेज कर्जाको वृद्धिदर ऋणात्मक भएको हो ।
जसमा ओभर ड्राफट् कर्जा सबैभन्दा धेरै ४३.४ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल २ खर्ब ३१ अर्ब रुपैयाँ ओभर ड्राफ्ट कर्जा लगानी गरेकोमा जेठ मसान्त आइपुग्दा १ खर्ब रुपैयाँले घटेर १ खर्ब ३१ रुपैयाँ झरेको छ ।
त्यसैगरी, चालु आवमा हायर पर्चेज कर्जा लगानीमा पनि भारी गिरावट आएको छ । असारसम्म १ खर्ब ५९ अर्ब हायर पर्चेज कर्जा लगानी भएकोमा जेठ आइपुग्दा २१.२ प्रतिशतले घटेर १ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ । ११ महिनामा हायर पर्चेज कर्जा ३३ अर्ब ६९ करोड रुपैयाँले घटेको हो । राष्ट्र बैंकले यस क्षेत्रमा कर्जा लगानी बढाउन नीतिगत लचकता अपनाए पनि ऋणको माग बढ्न नसकेको देखिएको छ ।
त्यसैगरी, उद्योगहरूले लिने चालु पूँजी कर्जा (वर्किङ क्यापिटल लोन) १ खर्ब २० अर्ब रुपैयाँले घटेको छ । असार मसान्तसम्म ८ खर्ब ८० खर्ब चालु पूँजी कर्जा लगानी भएकोमा जेठ आइपुग्दा १३.७ प्रतिशतले घटेर ७ खर्ब ५९ करोड रुपैयाँमा झरेको छ ।
पछिल्लो समय कर्जा लगानी बढाउन नेपाल राष्ट्र बैंकले एकपछि अर्को नीतिगत अंकुश हटाउँदै लगेको छ । यद्यपि, अपेक्षित रुपमा कर्जा विस्तार हुन सकेको छैन । हालसम्मको अवस्था हेर्दा चालु आवमा कर्जा विस्तारको लक्ष्य नभेटिने देखिन्छ ।