डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ।

उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ।उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो। गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए।त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेका थिए।

ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ मा एउटा सन्देश लेख्दै आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन्। ट्रम्पले लेखेका छन्, ‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो। धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।’

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।

उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए।उनका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

कानुन कार्यान्वयन गर्ने अमेरिकी निकायका स्रोतहरूले अमेरिकी साझेदार सीबीएस न्यूजलाई ती पुरुष आक्रमणकारीले राइफल बोकेको र घटनास्थलभन्दा केही परबाट एउटा अग्लो स्थानमा चढेर गोली प्रहार गरेको बताएका छन्। ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताएका छन्।

गुग्लिएल्मीले ट्रम्प सुरक्षित रहेको र उनको सुरक्षाका लागि आवश्यक कदम चालिएको बताए। उनका अनुसार घटनाबारे हाल अनुसन्धान जारी रहेको छ।

४ प्रकारको कर्जा लगानी लक्ष्यभन्दा धेरै, ३ क्षेत्रको वृद्धिदर ऋणात्मक Read Previous

४ प्रकारको कर्जा लगानी लक्ष्यभन्दा धेरै, ३ क्षेत्रको वृद्धिदर ऋणात्मक

सूचना प्रविधिको निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ : अध्यक्ष ढकाल Read Next

सूचना प्रविधिको निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ : अध्यक्ष ढकाल