काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ ।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए । उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ ।
उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए । यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमा अन्तर्गत १ हजार २९० प्रकारका औषधि रहेका छन् ।
अस्पताल टिकट ५० रुपैयाँ तोकिएको छ । शय्याको प्रतिदिन २५० रुपैयाँ राखिएको छ । यसअघि साधारण शय्याको २०० रुपैयाँ थियो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जना परिवारसम्मका लागि ३ हजार ५०० रुपैयाँ बराबरको योगदानका आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।
यस्तै, थप प्रतिसदस्य ७०० रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रुपैयाँसम्म तोकिएको छ ।
बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६७६ जना र कुल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार ४८३ जना (२६.५४ प्रतिशत) रहेको छ ।