काठमाडौं । नेपाल विद्युत् प्राधिकरण डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने उद्योग विरुद्ध आक्रमक बन्न थालेको छ । उद्योगीको चेतावनीका बाबजुद प्राधिकरणले धमाधम लाइन काटन् थालेको हो ।
अघिल्ला दुई दिनमा ५ उद्योगको बिजुली काटेको प्राधिकरणले बिहीबार राति जगदम्बा स्टीलको पनि लाइन काटेको छ । प्राधिकरणका अनुसार जगदम्बाले १ अर्ब ६० करोड रुपैयाँ महसुल तिर्न बाँकी छ ।
प्राधिकरणले बुधबार सिमरास्थित हुलास स्टील र भैरहवास्थित जगदम्बा सिन्थेटिकको विद्युत् लाइन काटेको हो । हुलासले १४ करोड १२ लाख र जगदम्बाले २० करोड ५० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, मंगलबार रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । रिलायन्स स्पिनिङले ७५ करोड ३६ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराहीले ५० करोड ८५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ६१ उद्योगले ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।
प्राधिकरणले तोकेको समयमा उद्योगीले बक्यौता महशुल नतिरेपछि धमाधम लाइन काटेको हो । प्राधिकरणले असार ९ गते ६१ उद्योगलाई पत्र काट्दै १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न भनेको थियो । तर, उद्योगीले सो समय भित्र बक्यौता नतिरेपछि लाइन काट्न थालेको हो ।
यता उद्योगीले भने प्राधिकरणले बिना प्रमाण फर्जी बिल पठाएको बताएका छन् । टीओडी मिटरको प्रमाण अनुसार आफूहरु महशुल तिर्न तयार रहे पनि प्राधिकरणले जबरजस्ती प्रयोग नगरेको बिजुलीको पनि बिल पठाएको बताएका छन् । उनीहरुले सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको जाँजबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेका छन् ।
व्यवसायीले बिहीबार विज्ञिप्ति जारी गर्दै प्राधिकरणले तत्काल लाइन काटेका उद्योगमा बिजुली नजोडे आ–आफ्नो उद्योगको बिजुली आफैं काट्ने चेतावनी समेत दिएका थिए । तर, प्राधिकरण व्यवसायीको चेतावनीको वेवास्ता गर्दै धमाधम लाइन् काट्न थालेको हो ।