काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका ५ उद्योगमा तत्काल बिजुली नजोडिदिए अरू सबै उद्योगको लाइन आफैं काट्ने व्यवसायीले चेतावनी दिएका हुन् ।
पीडित तथा प्रताडित उद्योगी समूहले एक विज्ञप्ति जारी गर्दै ५ उद्योगमा तत्काल विद्युत् आपूर्ति निरन्तर नबनाए उद्योगीले आ-आफ्नो उद्योगको बिजुली आफैं काट्ने बताएका हुन् ।
प्राधिकरणले बक्यौता नतिरेको भन्दै मंगलबार रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । त्यस्तै, बुधबार जगदम्बा सिन्थेटिक र हुलास स्टीलको बिजुली काटेको थियो ।
ती उद्योगमा लाइन काटेकोमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्योगीले तत्कालन लाइन जोड्न प्राधिकरणसँग माग गरेका हुन् ।
प्राधिकरणले आफूहरूले प्रयोग गरेको बिजुलीको टीओडी मिटरको प्रमाण दिए सबै रकम तिर्ने उद्योगीले बताएका छन् । प्राधिकरणले न्यायिक आयोगको सिफारिस विपरीत फर्जी बिल पाएको र छापामार शैलीमा लाइन काटेको उद्योगीको आरोप छ ।
‘प्राधिकरणले व्यवसायीको रूपमा हामी उद्योगीसँग अतिरिक्त रकम लिनुपर्ने आधार कारण र प्रमाण दिन सकेको छैन । उल्टो मङ्गलबार बेलुका ३ वटा उद्योगमा छापामार शैलीमा बिजुली आपूर्तिबन्द गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले डेडिकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर प्राधिकरणले उल्टो उद्योगीलाई तर्साउने/धम्काउने गरेको बताएका छन् ।
आफूहरू महसलु तिर्न तयार रहँदा रहँदै प्राधिकरणले औद्योगिक वातावरण बिगार्ने र विवाद बढाउने काम गरेको उनीहरूको भनाइ छ ।