काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप दुई उद्योगको बिदुत् लाइन काटेको छ । मंगलबार ३ उद्योगको लाइन काटेको प्राधिकरणले बुधबार राति थप दुई उद्योगको बिजुलीको लाइन काटेको हो ।
बुधबार प्राधिकरणले सिमरास्थित हुलास स्टील र भैरहवास्थित जगदम्बा सिन्थेटिकको विद्युत् लाइन काटेको हो । प्राधिकरणका अनुसार हुलासले १४ करोड १२ लाख र जगदम्बाले २० करोड ५० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
प्राधिकरणले यसअघि मंगलबार रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन बाकेको थियो । रिलायन्स स्पिनिङले ७५ करोड ३६ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराहीले ५० करोड ८५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ६१ उद्योगले ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।
प्राधिकरणले तोकेको समयमा उद्योगीले बक्यौता महशुल नतिरेपछि धमाधम लाइन काटेको हो । प्राधिकरणले असार ९ गते ६१ उद्योगलाई पत्र काट्दै १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न भनेको थियो । तर, उद्योगीले सो समय भित्र बक्यौता नतिरेपछि लाइन काट्न थालेको हो ।