काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई साढे ५ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बुधबार बसेको कोषको सञ्चालक समितिको बैठकले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गत चौथो किस्ता बापत ४ करोड १३ लाख अमेरिकी डलर बराबर (५ अर्ब ४९ करोड रुपैयाँ) रकम स्वीकृत गरेको हो ।
विस्तारित ऋण सुविधामार्फतका कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको उल्लेख गर्दै आईएमएफले चौथो किस्ताको रकम स्वीकृत गरेको हो ।
आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत ४ वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । सोमध्ये नेपालले यसअघि नै ३ किस्ता लिइसकेको छ ।
आइएमएफले चौथो किस्ता दिनु अघि नेपाल आएर विभिन्न पक्षको अध्ययन गरेको थियो । अध्ययनका क्रममा नेपालले आर्थिक सुधार एजेन्डामा महत्त्वपूर्ण प्रगति गरेको पाएपछि थप रकम निकासा गर्ने भएको हो । नेपालले मौद्रिक नीति, बैंकिङ नियमन जस्ता माध्यममार्फत कोभिड १९ का असरविरुद्ध प्रभावकारी भूमिका निर्वाह गरेको आइएमएफले जनाएको छ ।
त्यस्तै, आयात प्रतिबन्ध नगरी विदेशी मुद्रा सञ्चितिमा सुधार गरेको, चालु पूँजीगत कर्जा निर्देशिकामार्फत बैंकिङ सुपरीवेक्षण तथा नियमनमा सुधार गरेकोमा कोषले प्रशंसा गरेको छ ।
यो ईसीएफ रकमले नेपाललाई अरु विकास साझेदारहरुबाट थप वित्तीय सहयोग उपलब्ध गराउन सहयोग पुग्ने आइएमएफको भनाइ छ ।