सेयर किन्न ठूलो रकम ऋण लिने २०.४ प्रतिशत बढे

"जेठमा मात्रै लिए १.१६ अर्ब "

काठमाडौं । सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर धमाधम सेयर किन्न थालेका छन् । राष्ट्र बैंकको नीतिगत लचकतासँगै ब्याजदर पनि सस्तिँदै गएपछि लगानीकर्ताले ऋण लिएर धमाधम सेयर किन्न थालेका हुन् ।

अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसके पनि सेयर धितो कर्जा लगानी भने ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिना (साउन-जेठ)मा सेयर धितो कर्जा लगानी १४.२० प्रतिशतले बढेको छ । चालु आवमा मात्रै लगानीकर्ताले १० अर्ब ८० करोड रुपैयाँ सेयर कर्जा लिएका छन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा जेठ मसान्त आइपुग्दा बढेर ८७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । जबकि, राष्ट्र बैंकले कडाइ गर्दा अघिल्ला २ वर्षमै सेयरधितो कर्जा ३० अर्ब रुपैयाँले घटेको थियो ।

पछिल्लो एक महिना (जेठ)मा मात्रै बैंकहरूले १ अर्ब १६ करोड रुपैयाँ सेयर कर्जा दिएका छन् । चालु वर्षमा औसतमा मासिक १ अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भइरहेको हो ।

राष्ट्र बैंकका अनुसार साउनमा १० करोड ५०, भदौमा १ अर्ब २७ करोड, असोजमा ३ अर्ब ३३ करोड, कात्तिकमा १४ करोड, मंसिरमा ३ करोड, पुसमा ३ अर्ब १० करोड, माघमा ८८ करोड ६० लाख, फागुनमा ५३ करोड, चैतमा ४८ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी भएको छ । वैशाखमा भने सेयर कर्जा २३ करोड रुपैयाँले घटेको थियो ।

१ करोड बढी ऋण लिने साढे २० प्रतिशतले बढे

चालु आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा ठूलो रकमको ऋण ह्वात्तै बढेको छ । यस अवधिमा १ करोड बढीको ऋण २०.४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ४४ अर्ब ७१ करोड रहेकोमा जेठ आइपुग्दा बढेर ५२ अर्ब ६१ करोड पुगेको छ । समीक्षा अवधिमा १ करोड माथिको सेयर कर्जा ९ अर्ब १३ करोड रुपैयाँले बढेको हो ।

त्यस्तै, यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी ०.७ प्रतिशत अर्थात् ८ करोड ७८ लाख रुपैयाँले बढेको छ । त्यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी भने १०.६ प्रतिशतले बढेको छ । असारसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड कर्जा लगानी भएकोमा जेठ आइपुग्दा १ अर्ब ३५ करोडले बढेर १४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

२५ लाख रुपैयाँ मुनिको सेयर धितो कर्जा ३.३ प्रतिशत अर्थात् २३ करोड २२ लाख रुपैयाँले बढेको छ । जेठसम्म २५ लाख मुनिको सेयर धितो कर्जा ७ अर्ब २६ करोड रुपैयाँ छ ।

यस कारण बढ्दै छ सेयर कर्जा लगानी

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकताका कारण सेयर धितो कर्जा प्रवाह बढ्दै गएको हो । साथै, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

राष्ट्र बैंकले चालु आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकुश क्रमशः हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । अहिले बैंकहरूसँग साढे ६ खर्ब रुपैयाँ लगानी योग्य रकम छ । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट नै एकल अंकमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले १० प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

अहिले अधिकांश कम्पनीको सेयर मूल्य निकै घटेको छ । जसकारण लगानीकर्ताले सस्तो मूल्यमा सेयर उठाइरहेका छन् ।अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा पुगेको छ भने आन्तरिक सूचकहरूमा पनि क्रमशः सुधारोन्मुख रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यस्तै, हालै संसदमा दुई ठूला दल नेपाली काँग्रेस र नेकमा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । अब सरकारले पनि स्थिरता पाउने सम्भावना देखिन्छ । यिनै कारणले आगामी दिनमा सेयर बजारले लय समात्ने आशामा लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेको देखिन्छ ।

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने, साढे ५२ हजार मेट्रिकटन वितरण Read Previous

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने, साढे ५२ हजार मेट्रिकटन वितरण

साउन ४ गतेदेखि एफपीओ जारी गर्दै सूर्योदय वोमी लघुवित्त Read Next

साउन ४ गतेदेखि एफपीओ जारी गर्दै सूर्योदय वोमी लघुवित्त